१ लाख ४६ हजार घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयस्थित वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत ३ जना कर्मचारी १ लाख ४६ हजार ४२० रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार शाखाका भन्सार अधिकृत ईन्द्र न्यौपानेसहित ३ जनालाई घुस रकमसहित पक्राउ गरेको हो।
आयोगले न्यौपाने सहित कार्यालयका सहयोगी गणेश प्रसाद पुडासैनी र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय,हुलाक सेवा विभाग गोश्वरा हुलाक कार्यालय पार्सल शाखामा कार्यरत नायब सुब्बा छवि प्रसाद रिजाललाई घुससहित नियन्त्रणमा लिएको हो।
आयोगका अनुसार कुरियर कम्पनीमार्फत विदेश पठाउने विभिन्न सामानमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस/रिसवत माग गरेको उनीहरूविरुद्ध उजुरी परेको थियो। सोही उजुरीका आधारमा आयोगको टंगालबाट खटिएको टोलीले आइतबार उनीहरूलाई डिल्लिबजारस्थित गोश्वारा हुलाक कार्यालयबाट नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको आयोगले जनाएको छ।
अनुसन्धानका क्रममा विभिन्न व्यक्तिहरूबाट प्रयोगमा रहेका मोबाइल सेटहरू समेत नियन्त्रणमा लिइएको र घटनासँग सम्बन्धित थप प्रमाण संकलन भइरहेको आयोगले जनाएको छ।

