प्रचण्डको ‘भावुक याचना’ को लाष्ट विकल्प चुनाव रोक्नु हो : गोकुल बाँस्कोटा
काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पछिल्लो राजनीतिक कदमप्रति कटाक्ष गरेका हुन्।
सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा राख्दै उनले राजनीतिक नेतृत्वले समयमै सही निर्णय लिन नसक्दा ऐतिहासिक अवसरहरू गुम्ने र अन्त्यमा पश्चाताप मात्र बाँकी रहने टिप्पणी गरेका छन्।
बाँस्कोटाले प्रचण्डको हालैको गतिविधि र अभिव्यक्तिलाई ‘भावुक याचना’ को संज्ञा दिँदै अब उनीसँग विकल्पहरू सीमित हुँदै गएको दाबी गरेका छन्।
उनले भनेका छन्, ‘समयले विश्वासपुर्ण जवाफदेहिता सहित उपलब्ध गराएका दुर्लभ नेतृत्वदायी ऐतिहासिक अवसरहरु पटक-पटक गुमाए पछि पश्चातापको समय मात्र रहन्छ। कमरेड प्रचण्डको पछिल्लो भावुक याचना त्यै हो। अब लाष्ट विकल्प चुनाव रोक्नु वा अन्तिम पल्ट आफ्नै दुईचारका लागि मात्र भए पनि आकस्मिक वाम अंकमाल प्रयत्न।’
बाँस्कोटाले प्रचण्डले अबको परिस्थितिमा निर्वाचन रोक्नु वा अन्तिम पटक आफ्ना केही सीमित व्यक्तिहरूको स्वार्थका लागि ‘आकस्मिक वाम अङ्कमाल’ को प्रयास गर्नु नै अन्तिम विकल्प हुन सक्ने सङ्केत गरेका छन्।

