कैलाली ४ मा रोचक बन्दै नयाँ र पुराना राजनीतिक दलको प्रतिस्पर्धा, कसले मार्ला बाजी ?
कैलाली । कैलाली क्षेत्र नं. ४ हालका दिनहरूमा राजनीतिक रूपमा निकै सक्रिय र बहसपूर्ण क्षेत्र बनेको छ। नयाँ पुस्ताको जागरण, पुराना नेताहरूप्रतिको मूल्याङ्कन, र परिवर्तनप्रतिको आकाङ्क्षाले गर्दा यहाँको चुनावी वातावरण निकै रोचक देखिन्छ।
यस क्षेत्रमा चार प्रमुख उम्मेदवारहरू प्रतिस्पर्धामा छन् । लेक राज भट्ट (एमाले), आनन्द विष्ट (नेपाली कांग्रेस), खेमराज कोइराला (रास्वपा), र हरिराम चौधरी (नेपाली कम्युनिस्ट पार्टी)। यी सबैका विशेषता, जनभावना र समग्र प्रभावलाई नजिकबाट हेर्दा निर्वाचनको स्वरूप स्पष्ट बुझ्न सकिन्छ।
सबभन्दा पहिले लेख राज भट्ट नेकपा (एमाले) का पुराना तथा अनुभवी नेता भए पनि, हाल उनीप्रति जनभावना कमजोर बन्दै गएको देखिन्छ। कारण स्पष्ट छ- उनी पुरानो पुस्ताको प्रतिनिधि मानिन्छन् र अहिलेको जेनजी तथा युवा पुस्ताको अपेक्षा र आकाङ्क्षासँग मेल खान नसक्ने स्थिति देखिन्छ।
लामो समय क्षेत्रको जिम्मेवारी बहन गर्दा पनि उनले क्षेत्रका लागि ठोस र परिवर्तनशील काम नगरेको गुनासो जनतामाझ व्यापक छ। नयाँ पुस्ता पुरानै राजनीतिक शैली र सोचप्रति असन्तुष्ट रहेको, र परिवर्तनको चाहनाले गर्दा भट्टप्रति आकर्षण घटिरहेको स्पष्ट देखिन्छ। यसैले धेरैले उनलाई “अब नयाँ विकल्प चाहिन्छ” भन्ने भावनासहित हेर्न थालेका छन्।
यस्तो परिवेशमा, मुख्यतः डोटीबाट उम्मेदवारको दाबी उठिरहेको भए तापनि नेपाली कांग्रेसले अन्ततः आनन्द बिस्टलाई कैलाली–४ बाट उम्मेदवारका रूपमा अघि सारेको छ। नेपाली कांग्रेसका युवा, ऊर्जाशील र आधुनिक सोच भएका आनन्द विष्ट कैलाली–४ मा नयाँ आशा र सम्भावनाका प्रतीकका रूपमा उदाएका छन्।
उनको उमेर, प्रगतिशील विचार, स्पष्ट र प्रभावकारी प्रस्तुति शैली तथा अन्तर्राष्ट्रिय अनुभवका कारण उनले युवा पुस्ता मात्र होइन, पार्टीभित्रका वरिष्ठ नेता–कार्यकर्ता र आम कांग्रेसजनको समेत व्यापक समर्थन प्राप्त गरेका छन्। उनको उम्मेदवारीसँगै नेपाली कांग्रेसभित्र उल्लेखनीय उत्साह र सकारात्मक ऊर्जा देखिएको छ।
यसका साथै, सो क्षेत्रका प्रभावशाली नेताहरू- जो यसअघि आफैँ उम्मेदवारका प्रबल दाबेदार मानिन्थे-गौरीगंगाका लोकप्रिय नेता दिनेश राज जोशी र कैलाली कांग्रेस क्षेत्र नं. ४ का सभापति ललित रोकायाले आनन्द बिस्टलाई पूर्ण सहयोग र समर्थन प्रदान गरिरहेका छन्। विशेष गरी, कैलाली–४ मा लामो समयदेखि अत्यन्त लोकप्रिय रहँदै आएका दिनेश राज जोशीको सक्रिय साथ र समर्थनले आनन्द बिस्टको जनधारलाई अझ मजबुत बनाइदिएको छ।
युवाको आवाज सांसदसम्म पुर्याउने स्पष्ट दृष्टिकोण, आधुनिक राजनीतिक सोच र अन्तर्राष्ट्रिय पहुँचका कारण आनन्द विष्टले क्षेत्रका विभिन्न वर्गका नागरिकहरूलाई आफ्नो पक्षमा आकर्षित गर्न सफल भएका छन्। उनको उम्मेदवारीले कैलाली–४ मा नेपाली कांग्रेसको भविष्यप्रति नयाँ आशा र भरोसा जगाएको छ।
तेस्रोतिर, खेमराज कोइराला, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार, नयाँ दलको प्रतिनिधित्व गर्ने भएकाले नयाँ विचार, स्वच्छ छवि र युवा–मुखी राजनीतिक शैलीका कारण केही मतदातामाझ आकर्षण बटुलेका छन्। तर रास्वपाको सङ्गठनात्मक बल कैलाली–४ मा अझै पूर्ण रूपमा मजबुत नभएकाले उनको प्रभाव सीमित देखिन्छ। पार्टीभित्र प्रारम्भिक विवादपछि उनी आधिकारिक उम्मेदवार बनेका भए पनि, नयाँ विकल्प खोज्ने केही मतदाताले भने उनीप्रति ध्यान दिएको देखिन्छ। अनुभव कम भए पनि भिजन राम्रो रहेको उनको छवि छ, तर पुराना दलका शक्तिशाली संरचनासँग प्रतिस्पर्धा गर्न कठिन चुनौती अवश्य छ।
अन्तिमतिर, हरिराम चौधरी उत्सव, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार, एकीकृत कम्युनिस्ट पङ्क्तिबाट आएका नेता हुन्। उनी कम्युनिस्ट भोट बैङ्कमा केही हदसम्म भर पर्न सक्छन्, तर हालको राजनीतिक परिदृश्यमा युवा प्रवाह, परिवर्तनको चाहना, र अन्तर्राष्ट्रिय दृष्टिकोणको आवश्यकता बढ्दै जाँदा, उनको प्रभाव सीमित देखिन्छ। पार्टी संरचना पूर्ण रूपमा मजबुत नबनिसकेको र क्षेत्रीय स्तरमा नयाँ छवि निर्माण हुन बाँकी भएकोले, चौधरीको लोकप्रियता मध्यम स्तरमै देखिन्छ।
समग्रमा हेर्दा, कैलाली–४ मा अहिलेको मुख्य प्रतिस्पर्धा पुरानोपन विरुद्ध नयाँपन, परम्परा विरुद्ध परिवर्तन, र पुरानो सोच विरुद्ध युवा ऊर्जा बिच भइरहेको छ। पुरानै ढाँचामा अडिएका नेताहरूको प्रभाव कमजोर हुँदै गएको छ भने, नयाँ सोच, आधुनिक भिजन र युवा पुस्ताको प्रतिनिधित्व गर्ने उम्मेदवारहरू व्यापक रूपमा अगाडि बढिरहेका छन्। यस दृष्टिले, आनन्द बिस्टजस्ता युवा तथा गतिशील उम्मेदवार अहिलेको राजनीतिक वातावरणका “मुख्य पात्र” बनेका छन्। अर्कोतिर, एमालेका लेखराज भट्टजस्ता पुराना नेताहरूलाई पुनः स्वीकृति पाउन निकै चुनौतीपूर्ण परिस्थिति देखिन्छ।
यसरी हेर्दा, कैलाली–४ को आगामी चुनाव केवल दलहरूको प्रतिस्पर्धा मात्र होइन, पुरानो र नयाँ राजनीतिक पुस्ताको सङ्घर्ष जस्तै बनेको छ । जहाँ जनताले आफ्नो भविष्य, अवसर र प्रतिनिधित्वको गुणस्तरलाई आधार बनाएर निर्णय लिनेछन्।

