आजबाट स्वस्थानी व्रतकथा समाप्त
काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन (आजबाट) श्री स्वस्थानी व्रतकथा विधिपूर्वक समापन भएको छ ।
पौष शुक्ल पूर्णिमादेखि शुरु भएको यो एक महिने पवित्र व्रत तथा कथा पाठ आज आईतवार सम्पन्न भएको हो । नेपाली हिन्दू समुदायमा विशेष गरी महिलाहरूले श्रद्धा एवं संयमका साथ एक महिनासम्म स्वस्थानी देवीको पूजा, व्रत, माघ स्नान तथा स्वस्थानी व्रतकथाको ३१ अध्याय पाठ गरेर यो अनुष्ठान पूरा गर्छन् ।
स्वस्थानी व्रतलाई स्कन्द पुराणको केदार खण्डमा वर्णन गरिएको छ । यो व्रतले स्वास्थ्य, समृद्धि, मनोकामना पूरा तथा पारिवारिक सुख–शान्ति प्रदान गर्ने विश्वास गरिन्छ ।
देवी स्वस्थानीलाई चार हातमा चक्र, त्रिशूल, कमल र खड्ग लिएकी, सिंहासनमा विराजमान सुवर्ण वर्णकी त्रिनेत्रधारी देवीको रूपमा पूजा गरिन्छ। व्रत अवधिमा नियमित रूपमा मध्याह्नमा पूजा, सात्विक भोजन तथा कथा श्रवण गरिन्छ ।

