प्रधानमन्त्री सुशिला कार्की देखि बालेन सम्मकाे सहिद दिवसमा शुभकामना, सहिदकाे बलिदानी खेर जान नहुने तर्क
काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले नागरिक स्वतन्त्रता, लोकतन्त्र र न्यायका लागि जीवन आहुति दिने सम्पूर्ण सहिदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेकी छन्।
शुक्रबार एक सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले न्याय, समानता, उत्तरदायी शासन र उज्यालो भविष्यको अपेक्षासहित उठेको ‘जेनजी आन्दोलन’मा सहादत प्राप्त गर्ने वीर योद्धाप्रति पनि नमन व्यक्त गरेकी छन्।
‘उहाँहरूको साहस, चेतना र संकल्पकै कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको छ। अब कुनै आमाको काख फेरि रित्तिन नपरोस्,’ उनले भनिन् ।

यस्तै, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सहिद दिवसको अवसरमा नेपाली जनताको अधिकार, स्वतन्त्रता र लोकतन्त्रका लागि जीवन आहुति दिने सम्पूर्ण शहीदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्।
एक सन्देश जारी गर्दै थापाले २००७ सालको जनक्रान्ति अघिदेखि २०८२ सालको ‘जेनजी’ विद्रोहसम्म इतिहासका विभिन्न कालखण्डमा भएका आन्दोलन तथा संघर्षमा बलिदान दिने वीर सहिदको योगदानकै कारण आज नेपाली जनता स्वतन्त्रताको युगमा सास फेर्न सक्षम भएको बताएका छन् ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले राणा शासनविरुद्ध संघर्ष गर्ने सहिदको बलिदानपछि पनि राज्य जनताकै बन्न नसकेको टिप्पणी गरेका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत उनले गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीलाई तत्कालीन राज्यले क्रूरतापूर्वक हत्या गरेको ८५ वर्ष पूरा भएको स्मरण गराएका छन्।ती सहिदको बलिदानको करिब एक दशकपछि राणा शासनको अन्त्य भए पनि राज्यको चरित्र नफेरिएको उनले बताए ।
‘८५ वर्षमा पटक–पटक व्यवस्था फेरियो, तर सत्ताको चरित्र फेरिएन,’ बालेनले लेखेका छन्, ‘नेपाली जनताले निरन्तर संघर्ष गर्नुपर्यो, पटक–पटक जनता सहिद भए, तर सहिदका सपना अझै पूरा हुन सकेनन्।’
उनले पछिल्ला दिनमा भएको भदौको ‘जेनजी आन्दोलन’को प्रसंग पनि उठाएका छन्। सुशासन र भ्रष्टाचार अन्त्यको माग राख्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा तथा विद्यार्थीले जीवन बलिदान दिनुपरेको भन्दै उनले त्यसप्रति दुःख व्यक्त गरेका छन्।
सहिद दिवसको अवसरमा बालेनले सुशासनयुक्त र भ्रष्टाचारमुक्त देश निर्माणका लागि मन, वचन र कर्मले प्रतिबद्ध भएर लाग्न आह्वान समेत गरेका छन्।

यसैगरी, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सहिद दिवसको अवसरमा अमर शहीदहरूको बलिदानलाई स्मरण गर्दै लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै ओलीले सहिद दिवस आजको पुस्तालाई क्यालेन्डरको एउटा मितिजस्तो मात्र लाग्न सक्ने भए पनि इतिहासतर्फ फर्केर हेर्दा अहिले उपभोग गरिरहेको स्वतन्त्रता कसरी प्राप्त भयो भन्ने कुरा प्रष्ट हुने बताएका हुन् ।
उनले वि.सं. १९९७ मा प्रजातन्त्रको आवाज उठाएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई राणा शासनले मृत्युदण्ड दिएको स्मरण गराउँदै त्यही बलिदानबाट निरङ्कुश र जहानियाँ शासनविरुद्धको आन्दोलनको बीऊ रोपिएको उल्लेख गरेका छन्।
अध्यक्ष ओलीका अनुसार कम्युनिस्ट र कांग्रेसको संयुक्त आन्दोलनकै परिणामस्वरूप आज समाजले लोकतान्त्रिक अधिकार प्राप्त गरेको हो।
‘निरङ्कुश शासनको स्थानमा लोकतान्त्रिक अधिकार स्थापित गर्ने ऐतिहासिक संघर्षको विरासतलाई स्मरण गर्दै अमर शहीदहरू दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु,’ उनले लेखेका छन्।
सहिदहरूको बलिदानको मूल्य कहिल्यै नबिर्सने उल्लेख गर्दै ओलीले नेपालको राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न सधैं प्रतिबद्ध रहने पनि बताएका छन्।


