आज सहिद दिवस, सहिदको सपना र बलिदानलाई स्मरण गर्दै देश भर श्रद्धाञ्जली कार्यक्रम

No ads found for this position
No ads found for this position

 

काठमाडौं । देश र जनताको स्वतन्त्रता तथा अधिकारका लागि जीवन आहुति दिने सहिदहरूको स्मरणमा आज शुक्रबार देशभर सहिद दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । प्रजातन्त्र, स्वतन्त्रता र न्यायका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै यो दिवस मनाउने गरिन्छ ।

नेपालमा प्रजातन्त्र स्थापनाका लागि ज्यान अर्पण गर्ने चार महान् सहिद—धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीसहित विभिन्न कालखण्डमा बलिदान दिएका सहिदहरुको सम्झनामा हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाइन्छ।

राणा शासनविरुद्ध आवाज उठाएको आरोपमा तत्कालीन शासकले ती सहिदलाई मृत्युदण्ड दिएको थियो। उनीहरूको साहसिक बलिदानले नेपाली समाजमा चेतनाको बीजारोपण गर्दै जहानियाँ राणा शासनको अन्त्य र प्रजातन्त्र स्थापनाको मार्ग प्रशस्त गरेको इतिहास छ ।

सहिद दिवस केवल स्मरणको दिन मात्र नभई प्रजातन्त्र स्थापना, पुनःस्थापना तथा देशको सार्वभौमिकता र स्वतन्त्रताका लागि संघर्ष गरेका सहिदको योगदानबाट प्रेरणा लिने अवसरसमेत हो। यही उद्देश्यसहित माघ १० देखि १६ गतेसम्म ‘सहिद सप्ताह’ घोषणा गरी विभिन्न सचेतनामूलक तथा श्रद्धाञ्जली कार्यक्रमहरु आयोजना हुँदै आएका छन्।

स्वतन्त्रताको माग गर्दै संघर्ष गर्ने क्रममा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा तथा गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएको थियो।

आजको दिन सहिदको सपना र बलिदानलाई स्मरण गर्दै लोकतन्त्रको संरक्षण, सुशासन र नागरिक अधिकारप्रति प्रतिबद्धता व्यक्त गर्ने दिनका रूपमा मनाइँदैछ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *