निर्वाचन केन्द्रीत हुन काँग्रेस उपसभापतिको आग्रह, विशेष महाधिवेशनको बारे चुनाव पछि छलफल गरौला
काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली काँग्रेसले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँ सन्दर्भको प्रतिनिधि भएको बताएका छन् ।
काठमाडौंमा बिहीवार आयोजित पार्टीको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले प्रधानमन्त्रीका उम्मेदवारहरु कोही भदौ २३ र कोही भदौ २४ का रहेको भन्दै काँग्रेसको उम्मेदवार माघ १ को रहेको जिकिर गरे । उनले सबै कुराको आत्मालोचना गरेर काँग्रेस अघि बढेको र आफूलाई बदलेर परिवर्तनका लागि अग्रसर भएको बताए । उनले विशेष महाधिवेशनकाे बारेमा प्रश्न धेरै उठे पनि त्यसबारे निर्वाचन पछि छलफल हुने बताए ।
उपसभापति शर्माले सद्भाव, सुशासन र समन्नुत अहिलेको मुख्य मुद्दा भएको बताए । उनले अहिले नेपाली समाजलाई सबैभन्दा बढी चाहिएको कुरा सद्भाव भएको बताए । उनले निर्वाचनमा हारजित कुनै नौलो कुरा नभएको बताए ।
उनले भने, ‘कसैले भदौ २३ को कुरा गर्छन्, कसैले भदौ २४ को मात्रै कुरा गर्दछन् । प्रधानमन्त्रीका उम्मेदवारहरु थुप्रै हुनुहुन्छ । कोही भदौ २३ कोही भदौ २४ वाला हुनुहुन्छ । नेपाली काँग्रेस पार्टीको प्रधानमन्त्रीको उम्मेदवार माघ १ वाला हो । सारा विषयलाई डकुमेण्टमा लिएर रियलाइज गरेर क्षमा मागेर, आफूलाई बदलेर पार्टीलाई जबरजस्त ढंगले एउटा नयाँ युगमा लिएर गएर फेरि पार्टी भित्रका सबैलाई गाँसेर मैदानमा लिएर जाँदै गरेको काँग्रेस र काँग्रेसको अबको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँ सन्दर्भको प्रतिनिधि हो । सद्भाव, सुशासन र समन्नुत । अहिले समाजलाई सद्भाव सबैभन्दा बढी चाहिएको छ । हामी कसले जिताउँला आफ्नो ठाउँमा छ । जित्ने हार्ने चलिरहन्छ ।’
उपसभापति शर्माले काँग्रेस अब देश परिवर्तनका निम्ति आत्मालोचनासहित अघि बढिरहेको बताए । काँग्रेसले मात्र सबै १ सय ६५ क्षेत्रमा उम्मेदवारी दिएको समेत उनले बताए ।


