समन्वय अभावमा रोकिएनन् खनालको क्षेत्रमा बालेन, फर्किदा निस्किने जानकारी
कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह कैलाली- २ को घण्टी घरमा नरोकिएर हिंडेपछि कार्यकर्ता र समर्थक निराश भएका छन् ।
बालेन आउने खबरपछि कार्यकर्ता र समर्थक बिहानैदेखि बर्दगोरिया गाउँपालिका-२ स्थित बौनिया बजारमा रहेको क्षेत्र नम्बर २ को घण्टीघरमा जम्मा भएका थिए ।
बालेनकै स्वागतमा रास्वपा बर्दगोरियास्थित क्षेत्रीय समितिले स्वागत तथा अभिवादन कार्यक्रम राखेको थियो ।
शाह साढे ९ बजेतिर बौनिया पुगे पनि उनी त्यहाँ रोकिएनन् । बालेन नरोकिएपछि समर्थकहरूले व्यवस्थापनमा कमजोरी गरेको भन्दै कैलाली-२ का उम्मेदवार केपी खनालसँग गुनासो गरेका छन् ।
रास्वपाबाट उम्मेदवार बनेका खनाल बालेनकै उम्मेदवार हुन् । नेताहरूका अनुसार बालेन अछामसम्म पुगेर फर्किने कार्यक्रम तय भएको छ ।


