काठमाडौं फर्किए लगतै रणनीतिक छलफलमा व्यस्त बालेन

No ads found for this position
No ads found for this position

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबारे पार्टीका उम्मेदवारहरुसँग रणनीतिक छलफल गरेका छन् ।

आफ्नो निर्वाचन क्षेत्रबाट काठमाडौं फर्किएका नेता शाहले आईतवार चुनावी रणनीतिबारे उपत्यकाभित्रका पार्टीका उम्मेदवारसँग छलफल गरेका छन् । नेता शाहले उम्मेदवारहरुसँग चुनावी अभियानबारे ब्रिफिङ लिएको भेटमा संलग्न नेताहरुले बताए ।

भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ललितपुर–३ की उम्मेदवार समेत रहेकी नेतृ तोषिमा कार्कीले भेटमा चुनावी अभियानबारे नेता शाहले जानकारी लिईको बताईन् । उनले भेटमा चुनावी रणनीतिबारे समेत छलफल भएको उल्लेख गरिन् ।

उनकाअनुसार नेता शाहले उम्मेदवारहरुलाई आफूहरुको स्पष्ट बहुमतको सरकार बन्ने भन्दै जनताको समस्या बुझ्ने कार्यमा गम्भीरतापूर्वक लाग्न आग्रह गरेका छन् ।
उनले भनिन् , ‘उहाँले हामीहरुसँग अपडेट लिनुभएको हो । अर्को, चुनावी रणनीतिको बारेमा थोरै छलफल भयो । उहाँले स्पष्ट रुपमा भन्नुभएको छ–सरकार हाम्रो बन्दैछ । ढुक्क भएर जनताको घर घरमा जानुस्, समस्या सुन्नुस् । उहाँहरुको समस्या समाधान गर्छौं, हाम्रो स्पष्ट बहुमतको सरकार बन्दैछ ।’

पार्टीकी नेतृ रञ्जु दर्शनाले चुनावी रणनीतिबारे छलफल भएको जानकारी दिईन् ।
उनले भनिन् , ‘उहाँले ढुक्क भएर आफ्नो चुनावी क्याम्पेङ गरेर अगाडि बढ्नुस् भन्नुभयो । अन्य चुनावी रणनीतिको बारेमा पनि केही छलफल भयो ।’

रास्वपा नेता तथा काठमाडौं–३ का उम्मेदवार राजुनाथ पाण्डेले निर्वाचन क्षेत्रमा भइरहेको गतिविधिबारे जानकारी गराउन नेता शाहसँग भेट भएको बताए । उनले भेटमा चुनावी रणनीतिबारे छलफल भएको उल्लेख गरे । उनले आफूहरु सौहाद्र्रपूर्ण वातावरणमा जनताको घरदैलोमा गइरहेको उल्लेख गर्दै नागरिकले परिवर्तनलाई आत्साथ गरेको पाइएको पनि बताए ।

उनले भने, ‘काठमाडौं क्षेत्र नम्बर ३ मा के भइरहेको छ भन्नेबारे रिपोर्टिङको लागि म आएको थिएँ । हामी सौहार्द्रपूर्ण वातावरणमा जनताको घरदैलोमा गएका छौँ । नागरिकले देशमा विकसित राजनीतिक परिवर्तनलाई आत्मसाथ गरेको देखिन्छ । हामीलाई बहुमतले अनुमोदन गर्नुहुन्छ भन्ने विश्वास छ ।’

अगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेता शाहले झापा–५ बाट उम्मेदवारी दिएका छन् ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *