स्वास्थ्य बीमामा व्यापक दुरुपयोग भएको छ, कडाई गरिन्छः स्वास्थ्यमन्त्री गौतम
काठमाडौँ । स्वास्थ्य बीमामा व्यापक दुरुपयोग भएको छ, कडाई गरिन्छः स्वास्थ्यमन्त्री गौतम
स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमा कार्यक्रममा प्रिमियम कोषको ठूलो दुरुपयोग भएको बताएकी छिन् ।
यसलाई रोक्न तत्काल कडा उपायहरू लागू गर्ने घोषणा गरेकी छिन् । आफ्नो तीन महिने कार्यकालको प्रगति सार्वजनिक गर्दै उनले प्रति परिवार वार्षिक एक लाख रुपैयाँको सिमित रकम जथाभावी रूपमा सक्ने नियतले अनावश्यक स्वास्थ्य जाँच तथा उपचार गराइएको र सेवा प्रदायक संस्थाहरूले गलत नियतले पैसा असुल्ने गरेको पाइएको बताईन् ।
मन्त्री गौतमले बीमा कार्यक्रमको वित्तीय असन्तुलनलाई प्रमुख समस्या बताईन् । प्रिमियम संकलनभन्दा दाबी बढी हुने, समयमै भुक्तानी नहुने, अनावश्यक सेवा उपभोग (मोरल हेजर्ड), उच्च जोखिम भएकाको बढी सहभागिता (एडभर्स सेलेक्सन), कमजोर दाबी व्यवस्थापन, संगठित क्षेत्रको न्युन सहभागिता तथा बोर्डको आन्तरिक क्षमता अभाव जस्ता चुनौतीहरू रहेको उनको भनाइ छ ।
यी समस्यालाई सम्बोधन गर्न मन्त्रालय र स्वास्थ्य बीमा बोर्डले संयुक्त राष्ट्रिय कार्यशाला आयोजना गरी १९ वटा प्रमुख कार्यबिन्दुमा आधारित कार्ययोजना तयार पारेको छ ।



