उर्जा क्षेत्रलाई समृद्धिको आधार बनाउन सकिन्छः मन्त्री सिन्हा
काठमाडौं । अन्तरिम सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले ‘सरकार, निजी क्षेत्र र नागरिकको सहकार्यबाट उर्जा क्षेत्रलाई समृद्धिको आधार बनाउन सकिने बताएका छन् ।
२६ औं इप्पान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको जल भण्डारको बहुआयामिक उपभोग, उपयोग तथा स्वच्छ उर्जामार्फत समृद्धिका लागि माइलस्टोन हाँसिल गर्नसक्ने सम्भावनमा प्रचुर मात्रामा दखिएको बताए ।
कानूनका समस्याबारेमा हालसम्म किन पहल भएनन् भन्ने आफ्नो गुनासो व्यवसायीहरुसँग रहेको उनले बताए । उनले जलविद्युतलाई स्वच्छ उर्जाको रुपमा विकास र प्रवद्र्धन गर्न राज्यले प्राथमिकता दिनुपर्ने बताए ।
जलश्रोतको साथसाथै सौर्य उर्जा र अन्य उर्जाका माध्यमलाई पनि प्राथमिकता दिन जरुरी रहेको उनको भनाइ छ । जलविद्युत उत्पादनमा देखिएको उत्साहजनक लगानी र विकासका सम्भावना बीच घरेलु कृषि, व्यवसायीक उद्योग, यातायात,निर्माण र खानीजस्ता क्षेत्रहरुमा परम्परागत उर्जालाई क्रमशः स्वच्छ र नविकरणीय विद्युत उर्जाले प्रतिष्थापन गर्नेगरी स्वच्छ उर्जा रुपान्तरण नीतिगत तथा कार्यक्रमगत प्राथमिकतामा राख्न आवश्यक रहेको उनले बताए।
१५ वर्ष पहिला कति कानूनको आवश्यकता छ र कति वटा कानूनको अन्तरसम्बन्धले अफ्ठ्यारो परेको छ भन्नेकुराको अध्ययन भएपनि त्यसबारे हालसम्म कुनै पहल नभएको उनले बताए ।



