सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगाना समूह प्रदर्शनमा
काठमाडौं । जेनजी अगुवा मिराज ढुंगाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शन गरेको छ ।
सोमबार काठमाडौंको माईतीघर मण्डलामा ढुंगाना समूहले वर्तमान सरकारले जेनजी आन्दोलनप्रति धोका दिएको भन्दै सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शन गरेको हो ।
ढुंगानाले सुशीला कार्की नेतृत्वको सरकार विफल भइसकेको भन्दै राजनीतिक दल र नागरिक समाज सम्मिमलित सर्वपक्षीय सरकार गठन गर्नुपर्ने बताए।
सञ्चारकर्मीसँग कुरा गर्दै उनले पुराना राजनीतिक दलका नेताहरुलाई सरकार प्रमुख नबनाउनेगरी सर्वपक्षीय सरकार गठन गर्नुपर्ने आफूहरुको माग रहेको बताए। उनले प्रणाली नै खराब रहेको अवस्थामा वैधानिकता मात्र हेर्न नहुने बताए ।
उनले भने, ‘सर्वसहमतिको सरकार बनाएर मात्रै निर्वाचनमा जानुपर्छ । सबै कुरा बैधानिकतामा हेर्नु हुँदैन । सिस्टम नै बिग्रेको छ भने वैधानिकता हेरेर तपाईं कहाँ पुग्नुहुन्छ । त्यसकारण अहिले सर्वसहमति गररे अघि जानुपर्छ । नयाँ पुराना सबैलाई राखेर सर्वसहमति गर्ने हो तर सर्वपक्षीय सरकारको नेतृत्व पुराना शीर्ष नेताले गर्ने हैन । यो कुरामा हामी क्लियर छौँ र मागिरहेका पनि यही हौँ ।’
कार्की नेतृत्वको अन्तरिम सरकारले जेनजी आन्दोलनको मर्म बोक्न नसकेको भन्दै ढुंगाना समूह आन्दोलनरत छ ।


