कांग्रेसबाट अब कोही पनि २ पटक भन्दा बढी प्रधानमन्त्री बन्ने छैनन् : विश्वप्रकाश शर्मा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई पटक भन्दा बढि प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमै गर्नुपर्ने प्रश्ताव गरेका छन् ।
पार्टीको विशेष अधिवेशनको बन्दसत्रमा सांगठानिक प्रतिवेदन पेश गर्दै उनले देश र पार्टी दुवै असफल हुने भएकाले एउटै व्यक्तिलाई २ पटक भन्दा बढी प्रधानमन्त्री बन्न नपाउने गरी आफूले सो प्रश्ताव गर्नु परेको बताए ।
महामन्त्री शर्माले मुलुकको अस्थिरताबाट स्थिरतामा लैजाने कुरामा पनि नेपाली कांग्रेसले अग्रसरता भइ पहलकदमी लिनुपर्ने बताए ।
उनले भने, ‘चुनाव हुने, नयाँ सरकार बन्ने तर प्रधानमन्त्री पुरानै हुने डेढ दशकयता हामीले निरन्तर यो अभ्यास गर्दै आयौं । विगतको गल्ती सच्याउँदै यो विशेष महाधिवेशन उदघोष गर्दछ–नेपाली कांग्रेसको तर्फबाट भविष्यमा कोही पनि २ पटक भन्दा बढि प्रधानमन्त्री बन्ने छैनन् । २ पटक मात्रै प्रधानमन्त्री बन्ने यो नीतिलाई नेपालको संविधानमा लिपिवद्ध गर्न नेपाली कांग्रेसले अग्रसरता लिनेछ । देशलाई स्थिरतातर्फ लैजान नीति गत पहल गर्दछौँ ।’
महामन्त्री शर्माले समन्यायिक विकासको अवधारणा अन्तर्गत सबै निर्वाचन क्षेत्रमा बजेट विनियोजन गर्नुपर्ने बताए । प्रभावशाली नेताहरुको निर्वाचन क्षेत्रमा बढी बजेट विनियोजन हुने गरेकाले अब समन्यायिक विकासको अवधारणाअनुसार बजेट विनियोजन गर्न आवश्यक रहेको उनको भनाई थियो ।


