महामन्त्री थापा र शर्माले गरे कांग्रेस विशेष महाधिवेशनको उद्घाटन
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको छ। आइतबार भृकुटीमण्डपमा पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको उद्घाटन गरेका हुन्।
विशेष महाधिवेशनका लागि बिहानैदेखि नाम दर्ता प्रक्रिया सुरू भएको थियो। उद्घाटन समारोहअघि काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट शक्ति प्रदर्शनका रूपमा जुलुस निकालिएको थियो।
विशेष महाधिवेशको बन्द सत्र पनि आजदेखि नै सुरू हुने जनाइएको छ। विशेष महाधिवेशन भोलिसम्म सञ्चालन हुनेछ। विशेष महाधिवेशन पक्षधरले ६० प्रतिशतभन्दा बढी प्रतिनिधिको सहभागी हुने दाबी गरेको छ।
पार्टी ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संकलन गरी पार्टी विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशनको माग गरिएको थियो। सोही अनुसार महामन्त्रीद्वय थापा र शर्माको नेतृत्वमा महाधिवेशन हुन लागेको हो।
पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले यो महाधिवेशनलाई मान्यता दिन अस्वीकार गरेको छ । संस्थापन पक्षको भनाइ छ- नियमित १५ औँ महाधिवेशनको मिति तोकिसकेकाले विशेष महाधिवेशनको औचित्य सकिएको छ । महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन, नीति पुनरवलोकन र संरचनात्मक सुधारजस्ता एजेन्डा मुख्य रहने अपेक्षा गरिएको छ । भृकुटीमण्डपमा कार्यकर्ताहरूको उत्साह र चहलपहलले महाधिवेशनको माहोल तातेको छ ।


