मलाई कहिल्यौ प्रधानमन्त्री र सभापतिको लोभले आकर्षित गरेन : शेखर काईराला
काठमाडौं । नेपाली कांग्रेस नेता डा.शेखर कोइरालाले आफूलाई सभापति वा प्रधानमन्त्री बन्ने लोभले कहिल्यै आकर्षित नभएको बताएका छन्। विशेष महाधिवेसन सुरू हुन लाग्दा भिडियो सन्देश जारी गर्दै कोइरालाले कांग्रेसको समग्र एकताको पक्षमा शान्त आवाज उठाइरहने बताएका छन्।
उनले भने- ‘मेरो लड्ने तरिका शान्त र मधुरो थियो। मेरो कयौँ शैलीहरूसँग साथीहरू असहमत भएको म बुझ्थे। तर पनि म कांग्रेसको रूपान्तरण अभियानमा आक्रोश र अधैर्य भएर अगाडि बढ्न चाहिनँ। म यहाँ प्रस्ट भन्न चाहन्छु । मेरो निजी महत्त्वाकांक्षा केही छैन। मलाई मन्त्री, महामन्त्री हुने लोभले विगतमा कहिल्यै आकर्षित गरेन। यस्ता अवसरहरू आए तर मैले रुचि देखाइनँ। त्यस्तै सभापति, प्रधानमन्त्री हुने कुराले मलाई लोभ्याउँदैन। मैले मेरो परिवारबाट पाएको यही शिक्षा मेरो जीवन दर्शन हो र म यही जीवन दर्शनबाट अभिप्रेरित भएर कांग्रेसको समग्र एकताको पक्षमा शान्त आवाज उठाइरहेको छु र उठाइरहने छु ।
कोइरालाले पार्टी एकताको पक्षमा आफू निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दै महाधिवेशन प्रतिनिधिहरूलाई पार्टी विधानको सम्मान गर्दै ऐतिहासिक निर्णय लिन तयार रहन आग्रह समेत गरेका छन्।
उनले पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीसँग कहिलेकाहीँ असहमत भएपनि पार्टीभित्र युवा शक्तिहरूसँगको संवादलाई समेत सामना गर्नुपरेको बताएका छन्। तर, पनि पार्टीको एकताको पक्षमा निरन्तर लडिरहने उनको भनाइ छ।


