विशेष महाधिवेशनमा सहभागि हुन सभापतिलाई निम्तो पठाएका छौं : महामन्त्री शर्मा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशन पार्टी विधानको व्यवस्थाअनुसार अघि बढ्ने बताएका छन् ।
महाधिवेशनस्थलको अवलोकनको लागि शुक्रबार भृकुटिमण्डपमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् । उनले विशेष महाधिवेशनको प्रक्रिया प्रारम्भ भइसकेपछि त्यसको कार्यविधि निर्माण गरिने र सोही अनुसार महाधिवेशनले नेतृत्व चयनको प्रक्रियामा जाने बताए ।
उनले पार्टीका कुनैपनि नेताहरुलाई अनादर गर्ने तथा उनीहरुप्रति नकारात्मक टिप्पणी गर्ने पक्षमा आफू नरहेको बताउँदै विधानको व्यवस्थाअनुसार महाधिवेशनको प्रक्रिया अगाडि बढ्नुपर्नेमा जोड दिए ।
उनले महाधिवेशनमा सहभागि हुन पार्टी सभापति तथा कार्यवाहक सभापतिलाई समेत निमन्त्रणा गरिसकेको बताए ।
उनले भने, ‘हामी अहिले कसैका बारेमा पनि दकुनै टिप्पणी गर्दैनौँ । मात्रै प्रश्न के हो भने पार्टीको विधानमा व्यवस्था भएबमोजिम हुनेछ कि छै भन्ने मुल प्रश्न हो । त्यसैले यसमा पार्टी सभापति र कार्यवाहक सभापतिको पनि सहभागिताका लागि साथिहरुले आह्वान गर्नुभएको छ । अब विस्तारै सबैको साझा मञ्चको रुपमा विषेश महाधिवेशन जान्छ, जानुपर्छ भन्ने हाम्रो अपेक्षा छ ।’
उनले आईतबारदेखि सुरु हुने विशेष महाधिवेशन समग्र पार्टीको साझा मञ्चको रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गरे ।


