वीरगञ्जमा कर्फ्यूका बेला घरबाट निस्किए प्रहरीले गोलि चलाउने
वीरगञ्ज। जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यूको अवधि थपेर मंगलबार साँझ ६ सम्म पुर्याएको छ।
दुई समूहबीच धार्मिक तथा सामाजिक तनाव बढेपछि सम्भावित झडपको जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले सोमबार देखि लागेको कर्फ्यूको दोश्रो पटक समय थप गरि साँझ ६ बजेसम्म जारी गरेको हो।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले मंगलबार दिउँसो एक सूचना जारी गर्दै पूर्वमा बसपार्क, नगवा, इनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चौक र दक्षिणमा शंकराचार्य गेटलाई चारकिल्ला तोकी जारी गरिएको कर्फ्यूआदेश पछिल्लो सुरक्षा वस्तुस्थितीलाई मध्यनजर गर्दै मंगलबार साँझ ६ बजेसम्म निरन्तरता दिइएको जानकारी दिएका छन्।
यसअघि जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार दिउँसो १ बजेबाट अर्को आदेश नभएसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम सोही क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो त्यसपछि स्थानीय प्रशासनले सोमबार बेलुकी ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि कर्फ्यूआदेश जारी गरेको थियो भने पहिलो पटक मंगलबार दिउँसो १ बजेसम्म त्यस पछि मंगलबार साँझ ६ बजेसम्म कर्फ्यूआदेश जारी गरेको हो।
कर्फ्यूआदेश जारी भएको क्षेत्रमा कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला , जुलुश, प्रदर्शन , सभा , बैठक , घेराउ गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यूआदेश जारी भएको सूचनामा उल्लेख छ।
कर्फ्यूका बेलामा सुरक्षकर्मीले देख्ने बित्तिकै गोली हान्न सक्ने भएकाले अत्यावश्यक बाहेक घरबाट ननिस्किन र निस्कनु पर्दा नजिकको सुरक्षाकर्मीसंग समन्वय गरी निस्किन सुचनामा भनिएको छ।
त्यस्तैगरी कर्फ्यूअवधिभर अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, पर्यटक सवारी साधन, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारी साधन र हवाई टिकटको आधारमा हवाई यात्रुहरुको आवागमनमा सुरक्षाकर्मीले सहजीकरण गर्ने जनाईएको छ।


