वीरगञ्ज फेरि तनावग्रस्त, मुख्य क्षेत्रमा निषेधाज्ञा जारी
वीरगञ्ज । धार्मिक तथा सामाजिक विषयलाई लिएर उत्पन्न तनाव र सम्भावित झडपको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले निषेधाज्ञा जारी गरेको छ ।
वीरगञ्ज महानगरपालिकाका मुख्य तथा संवेदनशील क्षेत्रहरूमा निषेधाज्ञा जारी गरिएको हो ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार पुस २१ गते दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि यो निषेधाज्ञा लागू भएको हो ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी सूचनाअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम शान्ति सुरक्षा कायम राख्नका लागि तोकिएका क्षेत्रहरूभित्र कुनैपनि किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पूर्ण रूपमा प्रतिवन्ध लगाइएको छ ।
निषेधाज्ञा लागू भएका क्षेत्रहरूमा पूर्वमा बसपार्क क्षेत्र, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शङ्कराचार्य गेट हुन् ।
प्रशासनले उक्त आदेशको उल्लङ्घन गर्ने जोसुकैलाई नियन्त्रणमा लिई कानूनबमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको छ । पछिल्लो समय सुरक्षा संवेदनशीलता बढेको अवस्थामा शान्ति कायम गर्न यो कदम चालिएको हो ।


