मन्त्रीले बोलेको सबै कुरा पुरा हुन्न: अर्थमन्त्री खनाल
काठमाडौं । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले बोलेको कुरा सबै लागू गर्नसके मात्रै आशा गरेअनुसारको परिवर्तन सम्भव रहेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले बोलेको कुरा गर्न कतिपय अवस्थामा नसकिने बताए । प्रणालीमा वाक इन द टकको ठूलो समस्या रहेको उनले बताए ।
कुनैपनि दायित्व नलिइकन बोल्दा जति खुला हुन्छ दायित्व लिएर गर्न त्यत्तिकै कठिन रहेको उनको भनाइ छ । रुल अफ ल स्थापित भएपछि मात्रै जेनजीहरुले अपेक्षा गरेको सुशासन, भ्रष्टाचार नियन्त्रण गर्न सकिने उनले बताए ।
उनले आन्दोलन पछि पनि कानून परिपालना गर्ने कुरामा कोही पनि कटिवद्ध नभए बताए । कानूनी शासन स्थापित गर्न अहिले पनि नसकिएको उनको भनाइ छ ।
उनले भने, ‘मन्त्रीज्यूले भनेपछि जे पनि हुने व्यवस्था व्यवस्था नै होइन । कानूनले भनेपछि जे पनि हुने हो । हुनुपर्छ । कानून परिपालना गर्ने कुरामा कोही पनि कटिवद्ध छैन । यो परिवर्तन पछि पनि मसँग आउने आग्रहहरु राजश्व अनुसन्धान विभागले फलानोलाई समात्यो छोडिदिनुपर्यो । अहिले हामीले स्थापित गर्नुपर्ने भनेको रुल अफ ल हो । त्यसको विकल्प छैन तर त्यो गर्न सकिएको छैन ।’
अर्थमन्त्री खनालले यसअघिका अर्थमन्त्रीहरुले वित्तीय प्रशासनमा महत्वपूर्ण भुमिका खेलेको बताए ।


