रिभर गाइडको माग बढ्दो, त्रिशूली नदीमा तालिम दिइँदै

No ads found for this position
No ads found for this position

काठमाडौं । पर्यटन प्रवर्द्धनको लागि त्रिशूली नदीमा युवाहरुलाई रिभर गाइड (र्‍याफ्टिङ) को प्रयोगात्मक तालिम दिइएको छ ।

नेपाल पर्यटन बोर्ड, नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल मेनेजमेण्ट (नाथम) र दिगो पर्यटन परियोजनाको सहकार्यमा तालिम दिइएको हो ।

नाथमका प्रधानाध्यापक अजयकुमार ढकालले रिभर गाईड नेपालको पर्यटन क्षेत्रमा चाहिने एक विशेष मानवीय स्रोत भएको बताए । उनले ७० जनालाई तालिम दिन लागिएको जानकारी दिए ।

उनले नाथमले हालसम्म १ हजार २ सय ३८ जना रिभर गाईड उत्पादन गरिसकेको बताए । तालिममा सहभागीहरुले नेपालमा मात्रै नभई संसारभर गएर नै काम गर्नसक्ने उनको भनाई छ ।

नाथमका प्रशासन विभाग प्रमुख ज्ञानराज पण्डितले सैद्धान्तिक कक्षा नाथममा सञ्चालन गरेर प्रयोगात्मक परीक्षाको लागी त्रिशुली नदीमा ल्याएको जानकारी दिए । उनले प्रयोगात्मक परीक्षामा उत्तिर्ण भएकोहरुले लाईसेन्स प्राप्त गर्ने बताए ।

नेपाल एशोसिएशन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) का उपाध्यक्ष शुक्र लामाले रिभर गाईड जति उत्पादन गरेपनि अभाव हुने गरेको बताए । विभिन्न देशबाट रिभर गाईडको माग आउने भएकोले रिभर गाईडहरु विदेशमा गएर काम गरिरहेको उनले बताए ।

हाल रिभर गाईडको माग पूरा गर्न पनि धौ-धौ परिरहेको उनको भनाइ छ । उनले नेपालमा पनि रिभर गाइडको अभाव रहेको बताए । उनले वर्षमा दुई पटक तालिम गर्न सकिए अझ राम्रो हुने पनि उल्लेख गरे ।

हिमालयन रिभर राईड एशोसिएशन नेपालका पूर्वअध्यक्ष मानध्वज गुरुङले र्‍याफ्टिङ एडेभेञ्चर स्पोर्ट भएको बताए । खतरामा रमाउन चाहने पर्यटकहरुलाई जोगाउनको लागि तालिम प्रदान गर्न लागिएको उनले बताए ।

उनले खोलामा पर्यटकको सुरक्षा, रेस्क्यु लगायतका बारेमा गाईडहरुलाई तालिम दिने बताए । अहिले ७० जनाले तालिम लिइरहेको उनले बताए ।

तालिममा सहभागीहरुलाई डोरी ड्रेसिङ गर्ने, स्वीङ गर्ने, बोर्ड फ्ल्पि गराउने, रिभर क्रस गराउने, पर्यटकको रेस्क्यू लगायतका बारेमा तालिम दिइएको हो । र्‍याफ्टिङ गराउनु अगाडी पर्यटकलाई नदीको बारेमा जानकारी दिने, सुरक्षाको बारेमा जानकारी दिने, दुर्घटनामा भए उद्धार गर्ने, प्राथमिक उपचार लगायतका बारेमा पनि उनीहरुलाई जानकारी गराइएको हो । १५ दिने सो तालिम बिहीबारसम्म चल्नेछ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *