मुगुमा भाइरल इन्फ्लुएन्जाको प्रकोप फैलियो, ५ को मृत्यु
मुगु । मुगुका चारवटै स्थानीय तहका समुदायमा भाइरल इन्फ्लुएन्जा (रुघाखोकी–ज्वरो)को प्रकोप फैलिएको छ। भाइरल ज्वरोका कारण छायांनाथ रारा नगरपालिका–१४ बाममा ५ जनाको मृत्यु भएको छ भने सयौं सर्वसाधारण बिरामी परेका छन्।
मृत्यु हुनेमा ५७ वर्षका जुद्ध रोकाया, ६० वर्षीया मुनसिला बढुवाल, ६२ वर्षका कृष्णबहादुर बुढा, एक तीन महिनाको शिशु तथा दुई वर्षको एक बालक रहेका छन्। हाल गाउँमा बालबालिकादेखि वृद्धसम्म अधिकांश सर्वसाधारण भाइरल ज्वरोबाट थला परेका छन्।
जिल्लामा असोज महिनायता वर्षा तथा हिमपात नहुँदा अत्यधिक चिसो र धुलोको असर बढेसँगै भाइरल इन्फ्लुएन्जाको संक्रमण तीव्र रूपमा फैलिएको छ।
संक्रमण फैलिँदै गएपछि छायांनाथ रारा नगरपालिकाले पुस ५ गते बाम गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। शिविरमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा ६ जनामा निमोनिया देखिएपछि थप उपचारका लागि जिल्ला अस्पताल मुगुमा रिफर गरिएको छ र उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
यस्तै, मुगुम कार्मारोङ गाउँपालिका–७, ८ र ९ नम्बर वडाका पाँच बस्तीमा पनि भाइरल कारण धेरै सर्वसाधारण बिरामी परेका छन्।
सोरु गाउँपालिकाका स्वास्थ्य चौकीहरूमा पनि रुघाखोकीका बिरामीको संख्या विगतको तुलनामा उल्लेख्य रूपमा बढेको छ।
खत्याड गाउँपालिकामा पनि रुघाखोकीका बिरामीको संख्या वृद्धि भएको छ।


