निकोलस भुसाल पक्राउ, जेनजीलाई तितरबितर पार्दै प्रहरी (तस्बिरहरु)
काठमाडौं । जेनजी आन्दोलनका अभियन्ता मिराज ढुंगाना नेतृत्वको समूहले विरोध प्रदर्शन गरेको छ । सोमबार बिहान काठमाडौंको माईतीघर मण्डलामा भेला भएका उनीहरुले सरकारको विरोध गर्दै प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ । सो क्रममा निकोलस भुसालसहित केही युवालाई नियन्त्रणमा लिइएको छ ।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जेनजी आन्दोलनको मर्म र युवा पुस्ताको भावनालाई आत्मसात गर्न नसकेको भन्दै उनीहरूले १० बुँदे मागसहित सडकमा प्रदर्शन गरेका छन् ।
प्रदर्शनसँगै माईतीघर क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सुरक्षा व्यवस्था मजबुत पारिए पनि प्रदर्शनरत केही जेनजीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
ढुंगानाले सरकारले आन्दोलनका क्रममा पक्राउ परेका युवाहरूमाथि लगाइएका मुद्दा खारेज गर्नुपर्ने, भ्रष्टाचार निर्मूल आयोग गठन गर्नुपर्ने र सर्वपक्षीय सरकार गठन गर्नुपर्ने लगायत माग अघि सार्दै आईतबार आन्दोलनको घोषणा गरेका थिए ।
जेनजी समूहले जेनजी आन्दोलनलाई ‘धोका’ दिइएको भन्दै देशव्यापी आन्दोलनको घोषणा गरेको छ । यसअघि पनि ढुंगाना नेतृत्वको समूहले सिंहदरबारअगाडि प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको थियो । सरकारले भने प्रदर्शनलाई शान्तिपूर्ण राख्न सुरक्षा शतर्कता अपनाएको जनाएको छ ।



