सप्तरीमा २ जनामाथि चुलेसी प्रहार, ५ जना फरार
सप्तरी। सप्तरीको कञ्चनरूप नगरपालिका-११, गोरपारमा आगलागी र त्यसपछि उत्पन्न विवादका क्रममा २ जना घाइते भएका छन् । विवादका क्रममा खुकुरी तथा चुलेसी प्रहार हुँदा उनिहरु घाइते भएका हुन् । शनिबार साँझ फुसको गोठमा राखिएको परालको टालमा अचानक आगलागी भएको थियो ।
स्थानीय मो. जमिलले आगो लगाएको भनी मो. दाबुदले आरोप लगाएपछि दुबैबिच विवाद झै–झगडा हुँदा जमिलले कुटपिट र अहमदले चुलेसी प्रहार गर्दा दाबुदको दाहिने तिघ्रामा चोट लागि घाइते भए भने उनका आमा मरियम खातुनको हातको चोरी औलामा सामान्य चोट लागेको बताइएको छ ।
दुबै जनाको स्थानीय धर्मेश्वर अस्पताल ठेलिया सप्तरी उपचार भइरहेको इलाका प्रहरीले बताएको छ ।
चुलेसी हान्ने र कुटपिटमा संलग्न स्थानीय ४० वर्षीय मो. जमिल, २६ वर्षीय सुलतान र सलाम, २५ वर्षीय ऐजरायल तथा अहमद फरार रहेकोमा उनिहरूको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।
विवाद हुनु अघि दाबुदको गोठमा भएको आगलागीबाट १ लाख ५० हजार रुपियाँ मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।


