क्षतिग्रस्त भवन मर्मतका लागि संघ सरकारले सहयोग गर्छ: अर्थमन्त्री

No ads found for this position
No ads found for this position

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त बुटवल उपमहानगरपालिकाको कार्यालय भवनको स्थलगत अवलोकन गरेका छन् ।

तोडफोड र आगजनी भएको एकसय दिनपछि क्षतिग्रस्त उपमहानगरपालिका कार्यालय भवनको स्थलगत अवलोकन गर्न पुगेका अर्थमन्त्री खनालले भवन मर्मतका लागि संघ सरकारले सहयोग गर्ने आश्वासन दिए।

क्षतिग्रस्त कार्यालय भवन मर्मतसम्भार सम्बन्धि फाइल बिहीबार मात्रै आफ्नो टेबुलमा आएको भन्दै उनले फाइल हेरेर आवश्यक निर्णय लिने बताए ।

बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खिलराज पाण्डेयले सामान्य मर्मतले मात्रै कार्यालयको सेवा प्रवाह गर्न सम्भव नभएकोले संघ सरकारको सहयोग जरुरी रहेको बताए ।

कार्यालय भवन पुनर्निर्माणका लागि ठूलो रकम आवश्यक पर्ने र उपमहानगरपालिकासँग त्यस्तो स्रोत नभएकोले संघ सरकारबाट सहयोग गर्न माग गरे । उपमहानगरपालिका आफैँले भवन पुनर्निर्माण गर्दा विकास योजनाका लागि छुट्टयाइएको बजेट कटौती गर्नुपर्ने भन्दै नगर प्रमुख पाण्डेयले कार्यान्वयनमा गइसकेको योजना कटौती गर्दा समस्या पर्ने गुनासो गरे ।

बुटवलको ज्योतिनगर पहिरो नियन्त्रणका लागि राष्ट्रपति चुरे संरक्षण आयोजनामार्फत २५ करोड बजेट छुट्टयाइएको भएपनि उक्त बजेट कटौती भई २५ लाखमा झरेको भन्ने सुन्नमा आएको भन्दै उनले सो बजेट कटौती नगर्न आग्रह गरे ।

ज्योतिनगर पहिरो नियन्त्रण योजनाको बजेट कटौती हुँदा पहिरोले ज्योतिनगरको बस्तीसँगै बुटवल बहुमुखी क्याम्पस नेपाली सेनाको विद्यालय विस्थापित हुनुका साथै समग्र बुटवललाई नै असर गर्ने उनले अर्थमन्त्री खनालको ध्यानाकर्षण गरे । जवाफमा अर्थमन्त्री खनालले संवेदनशील र कार्यान्वयनमा गइसकेका आयोजनाको बजेट कटौती नगरिएको जानकारी गराउँदै त्यस विषयमा सम्बन्धित निकायसँग बुझ्ने बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *