८ जना प्रहरी अधिकृलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पदोन्नति भएका ८ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक कार्यक्रम बीच प्रहरी महानिरीक्षक कार्कीले उनिहरूलाई दर्ज्यानी चिन्ह प्रधान गरेका हुन् ।
नेपाल सरकार गृहमन्त्रीस्तरको २०८२ पुस २ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी उपरीक्षकबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक पदमा १ जना, नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८२ पुस २ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा ३ जना र प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा ४ जना गरी जम्मा ८ जना प्रहरी अधिकृतहरू पदोन्नति भएका हुन् ।

दर्ज्यानी चिन्ह पाउनेहरुमा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक ई.हरि डंगोल, प्राविधिक प्रहरी उपरीक्षकहरू ई.केविन जंग थापा, ई.रोसन सारू र ई.सुन्दर लाखे तथा प्राविधिक प्रहरी नायव उपरीक्षकहरू दिपक केसी (खत्री), बिमल कार्की, ओम प्रकाश शर्मा र कृष्ण बहादुर बस्नेत रहरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले दर्ज्यानी चिन्ह प्राप्त गरेका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर् । प्रहरी संगठनमा प्राविधिक समूहतर्फ रही व्यावसायिक निष्ठाका साथ निर्वाह गरेको जिम्मेवारीको मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै आगामी दिनमा अझै उत्प्रेरित भई आफ्नो लगन र निष्ठालाई अक्षुण्ण राखी संगठनात्मक गतिशीलतामा थप योगदान पुर्याउन उनले निर्देशन दिए ।

प्रहरी महानिरीक्षक कार्कीले सबै प्रहरी कर्मचारीहरूले आफ्नो बोली, वचन र व्यवहारलाई गुणस्तरीय बनाउनुपर्ने बताउँदै नागरिकका समस्यालाई सम्बोधन गर्दै आफुलाई प्राप्त जिम्मेवारी उच्च मनोबल, सामूहिक भावना, सकारात्मक सोच एवम् इमानदारीपूर्वक सम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।
आसन्न निर्वाचनलाई मध्यनजर गरी देखा पर्नसक्ने सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्न स्थानीय तह र अन्य सुरक्षा निकायसँग समन्वय एवम् सहकार्य गरी आवश्यक सुरक्षा रणनीति अवलम्बन गर्नपर्ने उनले बताए ।


