टी-२० विश्वकप ट्रफी टुर नेपालमा पनि हुने
काठमाडौं । आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलङ्कामा आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनि ल्याइने भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले विश्वकप अघिको ट्रफी टुरमा नेपाललाई पनि समेटेको हो । आइसिसीकाअनुसार ट्रफी टुर एसियाली देशमा आयोजक भारत, श्रीलङ्का, नेपाल, कतार, ओमान, बहराइन र मङ्गोलियामा लगिनेछ ।
नेपालले तेस्रो पटक टी–२० विश्वकप खेल्दैछ । विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ । यस समूहमा नेपालसहित दुई पटकको विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, बङ्गलादेश र इटाली रहेको छ ।
नेपालले इङ्ल्यान्ड र इटालीसँग पहिलो पटक खेल्ने छ । नेपालले समूह चरणको सबै खेल मुम्बईमा खेल्नेछ । इटालीले पहिलो पटक विश्वकप खेल्न लागेको हो ।
नेपालले भने तेस्रो पटक विश्वकपको यात्रा तय गरेको हो । नेपालले यसअघि सन् २०१४ र सन् २०२४ को विश्वकप खेलेको थियो ।


