भृकुटीमण्डपमा एमाले महाधिवेशनको बन्दसत्र सुरु
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु भएको छ।
केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–पटक सरेको थियो। सुरुमा १२ बजे तय गरिएको बन्द सत्र १ बजे हुँदै अन्ततः दिउँसो ३ बजेका लागि सारिएको थियो ।
बन्द सत्र काठमाडौंस्थित भृकुटीमण्डपमा आयोजना हुँदै छ। बन्दसत्रमा २ हजार २ सय ६२ जना महाधिवेशन प्रतिनिधि सहभागी छन्।
यसअघि बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको पुरानै विधान कायम राखेर अघि बढ्ने निर्णय गरेको छ। बैठकले विधानको मूल मर्म नबदल्ने र संरचनागत पक्षमा मात्र समायोजन गर्ने निर्णय गरेको हो।
निर्णय अनुसार बन्द सत्रबाट अध्यक्ष १ जना, उपाध्यक्ष ५ जना, महासचिव १ जना, उपमहासचिव ३ जना र सचिव ९ जनासहित ३ सय १ सदस्यीय केन्द्रीय कमिटी गठन हुने छ। पोलिटब्युरो ९९ सदस्यीय बनाइने छ भने पोलिटब्युरोको एक तिहाइ सङ्ख्यामा स्थायी कमिटी गठन गरिने छ।
पार्टी नेतृत्वका अनुसार बन्द सत्रमा विधान संशोधनका सन्दर्भमा सङ्ख्या र संरचनामा मात्र परिवर्तन हुने र अन्य प्रावधान यथावत् राखिने छन्।


