नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछ: प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक तथा आर्थिक अवसरहरुमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्ने बताएकी छिन् ।
आदिवासी जनजाति उत्थान प्रतिष्ठानले आईतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनमा युवाहरुले सुशासन र समृद्धिको प्रमुख मुद्दा उठाएको स्मरण गराउँदै सोही मुद्दा सम्बोधन हुनेगरी काम गर्न आवश्यक रहेको बताइन् ।
उनले समावेशी विकास र समन्यायको आकांक्षा जेनजीहरुको अभिव्यक्ति भएको उल्लेख गर्दै सोहीअनुसार अघि बढ्नसके देशमा दिगो विकास हुने र त्यसले राष्ट्रलाई बलियो बनाउने बताइन्।
प्रधानमन्त्री कार्कीले भनिन्,‘भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा युवाहरुले सुशासन र समृद्धिको प्रमुख मुद्दा उठाएको यहाँहरु सबैलाई विदितै छ । राजनीतिक र आर्थिक अवसरहरुमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्ने जेन–जीको माग पनि समावेशी विकास र समन्यायको आकांक्षाको अभिव्यक्ति हो । सबै वर्ग र समुदायको समान पहुँच र सहभागितामा भएको विकास नै दिगो बन्न सक्दछ । यसले राष्ट्रलाई बलियो बनाउँदछ । यस दिशामा प्रतिष्ठानले थप प्रभावकारी भुमिका खेल्न सकोस् ।’
प्रधानमन्त्री कार्कीले सबै जाति, भाषा र संस्कृतिका समुदायको हीत हुनेगरी अघि बढ्न पनि सम्बन्धित पक्षलाई सचेत गराइन्।


