एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष ५ जना रहने
काठमाडौं । नेकपा एमालेले वरिष्ठ उपाध्यक्ष पद हटाएको छ ।
आईतबार बिहान बसेको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले जानकारी दिए ।
उनकाअनुसार महाधिवेशनको बन्द सत्रबाट अध्यक्ष- १, उपाध्यक्ष- ५, महासचिव- १, उपमहासचिव- ३, सचिव- ९, स्थायी कमिटी- ३३, पोलिटब्युरो- ९९ समेत गरी ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना बन्नेछ ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विधान महाधिवेशनबाट पारित विधानलाई आत्मसाथ गर्दै अगाडि जाने निर्णय गरेको बताए ।
उनले भने, ‘१० औँ महाधिवेशनमा पारित भएको विधानलाई आत्मसाथ गर्दै अगाडि जाने र उपाध्यक्ष मात्रै राखेका छौँ पाँच जना । वरिष्ठ उपाध्यक्षको प्रबन्ध गरिएको छैन । पदाधिकारीसहितको बारेमा निर्णय गरेर हामी महाधिवेशनस्थल जाँदैछौं ।’
उनले महाधिवेशन अन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु हुने बताए ।


