११ औं महाधिवेशनले ओली प्रवृत्तिको अन्त्य गर्नुपर्छ: सुरेन्द्र पाण्डे
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा नेताको वरिपरि लाग्नेलाई मात्रै नेतृत्वका लागि योग्य ठान्ने परिपाटीको अन्त्य गर्न आफूहरूले चाहेको बताएका छन् ।
११ औं महाधिवेशनमा ईश्वर पोखरेल समूहका नेता पाण्डेले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै नेताको वरिपरि लाग्नेहरूलाई मात्रै नेतृत्वमा ल्याउने परिपाटीको अन्त्य गर्न आफूहरूले महाधिवेशनमा छुट्टै समूह बनाएर उम्मेदवारी दिने अवस्था आएको बताए ।
पाण्डेले नेता, कार्यकर्ता आफैँले मूल्याङ्कन गरेर नेतृत्व छान्ने परिपाटी बसाल्न र पार्टीलाई सामूहिक ढङ्गले अघि बढाउन महाधिवेशनले नयाँ नेतृत्व छान्नुपर्ने तर्क राखे । उनले पार्टीलाई कसैले हल्लाउन नसक्ने गरी अघि बढाउन पनि महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुपर्ने जिकिर गरे।
उपाध्यक्ष पाण्डेले अध्यक्ष ओलीले दुई कार्यकाल मात्रै अध्यक्ष रहने गरी आफूले बनाएको विधान फेरी संशोधन गरेको भन्दै आपत्ति जनाए ।


