यस्तो छ सशस्त्र प्रहरीको निर्वाचन लक्षित सुरक्षा रणनीति
काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी सशस्त्र प्रहरीले आफ्नो सुरक्षा रणनीति सार्वजनिक गरेको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै सशस्त्र प्रहरी नायव महानिरीक्षक तथा प्रवक्ता मनिष थापाले निर्वाचन लक्षित सुरक्षा रणनीति सार्वजनिक गरेका हुन् ।
निर्वाचनलाई सुरक्षित, व्यवस्थित र अवाञ्छित गतिविधिबाट मुक्त राख्न सशस्त्र प्रहरी बल नेपालले जोखिम मूल्याङ्कन, द्रुत प्रतिक्रिया टोली सञ्चालन, सीमा निगरानी, सञ्चार समन्वय र आवश्यक संसाधन परिचालन गर्ने योजना बनाएको छ ।
निर्वाचनको समयमा संवेदनशील क्षेत्र, असामान्य गतिविधि र सम्भावित जोखिम पहिचानका लागि विशेष टोली परिचालन गरिने प्रवक्ता थापाले जानकारी दिए ।
उनले अवैध आवतजावत, तस्करी वा अपराध वृद्धि हुन नदिन सीमा क्षेत्रमा विशेष गस्ती, चेकपोस्ट चौकसी, गस्ती निगरानी बढाइने बताए । उनले सीमा क्षेत्रबाट निर्वाचनमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्ने सम्भावना भएकाले उच्च सतर्कता अपनाइने जानकारी गराए ।
उनले निर्वाचनलाई भयरहित बनाउन जिल्ला सुरक्षा परिषद्हरूसँग आवश्यक समन्वय गरिने बताए ।
यस्तो छ सशस्त्र प्रहरी प्रमुख अर्यालको ३ वर्षे कार्यकाल
यस्तै कार्यक्रममा सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले आफ्नो ३ वर्षे कार्यकालमा भएका उपलब्धि सार्वजनिक गरेका छन् ।
अर्यालको ३ वर्षे कार्यकालमा सशस्त्रको प्रत्येक युनिटहरूमा नेपाल एपिएफ अस्पतालबाट चिकित्सक खटाई सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरूलाई ६/६ महिनामा स्वास्थ्य परीक्षण गर्ने व्यवस्था सुरुवात गरिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै सशस्त्र प्रहरी नायव महानिरीक्षक तथा प्रवक्ता मनिष थापाले कल्याणकारी सेवा केन्द्रबाट १० लाख रुपैयाँसम्मको सीमा आवास कर्जाको व्यवस्था गरिएको उल्लेख गर्दै हालसम्म ७६ जना सशस्त्र प्रहरी कर्मचारीहरू लाभान्वित भएको जानकारी गराए ।
उनकाअनुसार सबै ईकाइको आदर्श वाक्य निर्माण गरिएको छ । उनले विस्फोटक पदार्थको भण्डारण सम्बन्धमा अध्ययन गरी ३ स्थानमा बङ्कर निर्माण गरिएको जानकारी दिए ।
उनका अनुसार रेलवे, टनेल तथा बोटहरूको सुरक्षार्थ कस्तो तयारी गर्ने भन्ने सम्बन्धमा अध्ययन गरिएको तथा युनिट कमान्डहरूलाई एक्सन प्लान बनाएर कार्यान्वयनमा ल्याउने व्यवस्था सुरुवात गरिएको बताए ।
विपद् व्यवस्थापन, आकस्मिक उद्धार क्षमता, सडक सुरक्षा तथा स्वास्थ्य सेवा सुदृढीकरणका लागि ठोस कदम अघि बढाएको थापाले बताए ।
उनले राष्ट्रिय सडक सुरक्षा परिषद्सँग समन्वय गरी पोस्ट–क्र्यास रेस्पोन्स एण्ड केयर सेवा सुरु गर्न एमओयू भएको तथा दुर्घटना पश्चात् तुरुन्त उपचारका लागि सम्बन्धित निकायका कर्मचारीलाई मेडिकल फस्ट रेस्पोन्स तालिम दिइएको बताए ।
प्रगति विवरणमा प्राकृतिक विपद् तथा सवारी दुर्घटनामा परेका घटनाहरूको उल्लेख गरिएको छ । गत आर्थिक वर्षमा ३७ वटा स्थानीय तहमा विपद् स्वयंसेवक तालिम सञ्चालन भई समुदाय स्तरमा विपद्को समयमा परिचालन हुनसक्ने दक्ष जनशक्तिको रूपमा ९ सय ९० जना विपद् स्वयंसेवक तयार गरिएको पनि उनले बताए ।
सीमा सुरक्षा, निर्माण कार्य र स्वास्थ्य शिविर जस्ता महत्त्वपूर्ण कार्यहरू अर्यालको तीन वर्षे कार्यकालमा सम्पन्न गरिएको उनको भनाइ छ ।


