नारायणगढ-बुटवल सडक- दाउन्नेमा काम तीव्र हुँदै, यात्रुलाई सास्ती (फोटो फिचर)
काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडक विस्तार आयोजनाको दाउन्ने क्षेत्रमा कामले तीव्रता लिएको छ । विस्तारका कारण सवारी आवागमनमा असुविधा भए पनि स्थानीय सरोकारवालाहरूसँग समन्वय गरी काम अघि बढाइएको छ ।

नारायणगढ-बुटवल सडक विस्तारको काम २०७५ माघ २४ गते चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिसँग सम्झौता भएर सुरु भएको थियो । मूल रूपमा २०७९ साउन २२ गते सम्पन्न गर्ने लक्ष्य राखिएको यो परियोजना एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सञ्चालित छ । तर विभिन्न प्राविधिक र मौसमी अवरोधका कारण काममा ढिलाइ हुँदा हालसम्म चार पटक म्याद थप गरिएको छ ।
तेस्रो पटक २०८२ साउन ८ सम्म र चौथो पटक २०८३ असारसम्म म्याद बढाइएको हो । कुल सडकमध्ये ७० किलोमिटर चार लेन, २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ ६/६ मिटर सर्भिस लेन र दाउन्ने क्षेत्रको १४ किलोमिटरमा तीन लेन निर्माण हुनेछ ।

पूर्वी खण्ड (गैँडाकोटदेखि दाउन्नेसम्म ६५ किलोमिटर) मा ३३ वटा पुल निर्माण सकिएको छ । दाउन्ने क्षेत्र पूर्वी खण्डको सबैभन्दा चुनौतीपूर्ण भाग मानिन्छ । यहाँको साँघुरो सडक र पहाडी भूगोलका कारण विस्तारमा ढिलाइ भएको थियो ।



