अष्ट्रेलियामा वकिल बनेका पौडेल भन्छन्- यो उपलब्धि मेरो होइन, नेपाली समुदायको हो
काठमाडौं । नेपालका अञ्जन पौडेलले अष्ट्रेलियामा वकिलका रूपमा नाम दर्ता गराएका छन् ।
उनले अष्ट्रेलियाको उत्तरी प्रदेश (एनटी) मा पहिलोपटक नेपाली समुदायबाट वकिलको रुपमा नाम लेखाउन सफल भइ नेपालको नाम राखेका छन् ।

गाउँबाट काठमाडौँ आएर उच्च अध्ययन गरेका पौडेल सन् २०१५ मा अस्ट्रेलिया गएका थिए। सुरुमा अकाउन्टिङ पढ्न अस्ट्रेलिया पुगेका उनले पछि कानुन बिसय रोजे।
अस्ट्रेलियामा भाषाको कठिनाइ, काम, पढाइ, सन्तुलन र परिवारिक समस्याको बीच पनि उनले आफ्नो लक्ष्य प्राप्त गरेका छन् ।

पौडेलले करियरको सुरुवात प्रशासनिक सहायकका रूपमा गरे भने पछि HWL Ebsworth कानुनी संस्थामा कानून सहायकका रूपमा काम गर्दै पेशागत उचाइ बढाउँदै अहिले औपचारिक रूपमा वकिल बन्न सफल भएका छन्।
पौडेलले भने, “यो उपलब्धि केवल मेरो होइन, यहाँको नेपाली समुदायको गौरव हो। अस्ट्रेलियाले अवसर दिन्छ, केवल आत्मविश्वास नछाड्नु पर्ने रहेछ ।”

उनको उपलब्धिलाई एनटीस्थित नेपाली समुदायले स्वागत गर्दै विदेशमा संघर्षरत नयाँ पुस्ताका लागि प्रेरणादायी उदाहरण रहेको टिप्पणी गरेका छन्।





