सत्तामा पुग्न कम्युनिष्टहरु जोसँग पनि मिल्न थालेः गोकर्ण विष्ट
काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले सत्तामा पुग्नका लागि मिल्ने प्रवृत्ति पार्टीमा देखापरेको बताएका छन् ।
एमाले ११ औं महाधिवेशन सन्दर्भमा बुधबार आयोजित अन्तरसंवाद कार्यक्रममा न्युनतम विचार, कार्यक्रम, सिद्धान्त समेत नमिल्ने शक्तिहरुसँग मिलेर पनि एमालेले सरकार बनाएको बताए ।
१० औँ महाधिवेशनको ‘दक्षिणपन्थी अवसरवाद र सांगठानिक अराजकतलाई परास्त गरौँ, जबजको मार्ग निर्देशनमा समाजबादको आधार तयार गरौँ’ भन्ने नारा विपरित कार्यहरु भएको उनको भनाई छ ।
२०७९ को निर्वाचनमा संवैधानिक राजसंस्था बोकेर हिँड्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग निर्वाचनको लागि गठबन्धन गरेर अवसरवादलाई अंगालो हालेको उनले बताए ।
उनले सरकार निर्माणमा पनि न्युनतम सहमतिको आधार, कार्यक्रम, वैचारिक निकटतालाई समेत ध्यानमा नराखी राप्रपा, कांग्रेस, माओवादी, मधेसवादी, रास्वपा सबैसँग मिलेर बनाएको बताए ।
सरकारमा जानको लागि जो कसैसँग मिल्ने प्रकारका प्रवृत्तिहरु कम्युनिष्ट आन्दोलनमा देखापरेको उनको भनाई छ । उनले यसलाई दक्षिणपन्थी अवसरवादको एउटा भद्दा उदाहरण भएको टिप्पणी गरे ।


