यी हुन् प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ कांग्रेसले सिफारिस गरेका उम्मेदवार
काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मोरङबाट उम्मेदवारको नाम छनोट गरी जिल्ला समितिमा पठाएको छ ।
मोरङका ६ वटै सङ्घीय निर्वाचन क्षेत्रका क्षेत्रीय समितिले आफ्नो निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम छनोट गरी जिल्ला समितिमा पठाएको छ ।
मोरङ-१ बाट प्रत्यक्ष तर्फ निवर्तमान सांसद एवम् नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बु, कोशी प्रदेशका सहमहामन्त्री एवम् उर्लाबारी नगरपालिकाका पूर्व नगरप्रमुख खड्गबहादुर फागो र पूर्व महासमिति सदस्य दिब्या बस्नेतको नाम सिफारिस गरिएको छ ।
यस्तै समानुपातिक तर्फ सीता कार्की र इन्दु चौधरीको नाम सिफारिस भएको छ भने राष्ट्रिय सभाका लागि ललित अधिकारीको नाम सिफारिस गरिएको छ ।
मोरङ- २ मा प्रत्यक्ष तर्फ डा. मीनेन्द्रप्रसाद रिजाल, शिवनारायण सिंह र नारायणी पण्डितको नाम सिफारिस भएको छ । मोरङ २ बाट समानुपातिक तर्फ सुजाता कोइराला र गोपालामानसिंह राजभण्डारीको नाम सिफारिस गरिएको छ ।
मोरङ- ३ मा प्रत्यक्ष तर्फ निवर्तमान सांसद एवम् महासमिति सदस्य डा. सुनीलकुमार शर्माको नाम मात्र सिफारिस भएको छ । समानुपातिक तर्फ सात जना र राष्ट्रियसभाका लागि पाँच जनाको नाम सिफारिस भएको छ।
मोरङ- ४ मा प्रत्यक्ष तर्फ पूर्वमन्त्री महेश आचार्य, पूर्व राज्यमन्त्री दिलिपकुमार गच्छदार, नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष गुरुराज घिमिरे र क्षेत्रीय सभापति बिनोद बस्नेतको नाम सिफारिस गरिएको छ ।
मोरङ- ५ मा प्रत्यक्ष तर्फ पूर्व आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारी, कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ता, मोरङका पूर्व प्रशिक्षण विभाग प्रमुख फूलकुमार लालवानी र फैयाज रैनको नाम सिफारिस गरिएको छ । सामानुपातिक तर्फका उम्मेदवार छनोटको काम टुङ्गो लागेको छैन ।
मोरङ- ६ मा प्रत्यक्ष तर्फ डा.शेखर कोइरालाको नाम सिफारिस गरिएको छ । समानुपातिक तर्फ रमेशजङ्ग रायमाझी, डा. डिला संग्रौला, रुक्मिणी कोइराला, प्रमिला गच्छदार, मृदुला कोइराला, सीता घिमिरे र सरिता राना मगरको नाम सिफारिस गरिएको छ ।


