रुग्ण ठेक्का तोड्ने मेरो इच्छा भन्दा पनि बाध्यता हो: कुलमान घिसिङ
काठमाडौं । भौतिक पूर्वाधार, शहरी विकास तथा उर्जामन्त्री कुलमान घिसिङले रुग्ण ठेक्का तोड्ने आफ्नो इच्छा भन्दा पनि बाध्यता भएको बताएका छन्।
मंगलबार पू्र्वाधार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा उनले अब नबन्ने ठेक्का तोड्दै जाने चेतावनी दिए ।
उनले भने, ‘एउटा प्रोजेक्ट म्यानेजर आउछ । त्यसले निर्णय नै नगरेर स्केप हुने, अर्को प्रोजेक्ट म्यानेजर आउछ उसले पनि निर्णय नगर्ने त्यस्तालाई पनि कारबाही गर्नुपर्छ । जसले निर्णय गर्दैन, कामै गर्दैन त्यस्तालाई कारबाही गर्नुपर्छ । नत्र भने त कसरी प्रोजेक्ट बन्छ । प्रोजेक्ट बन्दै बन्दैन ।’
उनले निर्माण व्यवसायीकोतर्फबाट हेर्दा करिव २०० ठेक्का रुग्ण रहेको बताए । यस्तै उनले बजेट दिन नसकेको कारणले पनि धेरै प्रोजेक्टहरु रुग्ण भएको बताए । त्यसलाई दण्डित गरि छानविनको दायरामा ल्याइने बताए ।
उनले भने, ‘अलपत्र परेका ठेक्कालाई अहिले अख्तियारले पनि निर्णय नगर्नेलाई कारबाही हुनुपर्छ भनेको छ । त्यसैले निर्णय नगर्नेलाई कारबाही हुनुपर्छ । समयमा निर्णय नलिदाँ कति बेफाइदा भयो हेर्नुपर्छ । ४३ करोड घाटा भयो विद्युत प्राधिकरणलाई भनेर आयो । ४३ करोड थिएन् २१ करोड जति घाटा थियो । समयमा निर्णय नगरेपछि अर्को कोटेसन माग्नुपर्यो । तत्कालिन समयमा तत्कालिन कार्यकारी निर्देशकले निर्णय नगर्दा त्यो भएको हो । एकमहीनाभित्र कोटेशन मागेपछि एकमहिना भित्रै निर्णय गर्नुपर्यो नि । आफू निर्णय नगर्ने अनि त्यसको जिम्मेबारी अरुलाई बोकाउने काम गर्नु हुँदैन ।’
मन्त्रि घिसिङले निर्माण व्यवसायीहरुमा पनि धेरै समस्या रहेको बताए । उनकाअनुसार निर्माण व्यावसायीले धेरै कन्ट्याक्टहरु ज्वाइन्ट भेन्चरमा दिन्छन् । त्यसरी दिनु राम्रो भएपनि परिणाममुखी काम भने हुन सकेको छैन । घिसिङले नेपालमा अहिले लगानी सम्मेलन भन्दा पनि कन्ट्याक्टर समिट गर्न जरुरी रहेको बताए । कन्ट्याक्टरको क्षमता वृद्धि नगरेसम्म आयोजनाहरुको प्रगति कमजोर भइरहने उनको भनाइ छ ।


