फागुन २१ को चुनावमा अन्तिम पटक डडेल्धुराबाट लड्छु: सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू अन्तिम पटक डडेल्धुराबाट चुनावमा उम्मेदवा दिने बताएका छन्।
कतिपयले अब देउवाले चुनाव नलड्ने आकलन गरिरहेका बेला उनले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा आफू डडेल्धुराबाट उम्मेदवार हुने पार्टीका कार्यकर्ताहरूलाई जानकारी दिएका छन्।
देउवा निवास महाराजगञ्जमा आज डडेल्धुराका युवा नेता तथा नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टसँग भएको कुराकानीमा उनले आफू अबको चुनावमा डडेल्धुराबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ उम्मेदवार हुने कुरा बताएका हुन्।
भुवन भट्टले देउवासँग भएको भटको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै भनेका छन्, ‘नेपाली कांग्रेसका सभापति, तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा ज्युसँग भेटघाट भयो । बाहाँसँग आसन्न निर्वाचन र पार्टी महाधिवेशन बारे कुराकानी भयो । उहाँले डडेल्धुरावाट अन्तिम पटक चुनाव लड्ने इच्छा रहेको बताउनु भयो । साथै उहाँले युवाहरूको पार्टी र आम निर्वाचनमा अर्थपूर्ण प्रतिनिधित्व गराउने विषयमा आफ्नो साथ रहने र पार्टीमा नवयुवाहरूको आकर्षण बढाउनु आवश्यक भएको बत्ताउनुभयो ।’
सभापति देउवाले २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ को चुनावमा डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भइसकेका छन्।


