श्रम संस्कृति पार्टीले नेपालमा विदेशी चलखेल हुन दिँदैन: हर्क साम्पाङ
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले क्रान्तीकारी विकास आजको आवश्यकता भएको बताएका छन् ।
सोमबार पार्टीले काठमाडौंको सिफल चौरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले देशको संस्कृतिसँग युवालाई जोड्दै मुलुकलाई आर्थिक समुन्नतिको बाटोमा डोर्याउने अभियानमा गोलवद्ध हुन सबैलाई आग्रह गरे ।
उनले भने, ‘श्रम संस्कृति पार्टीले विदेशी ऋणको भरमा बाटो र पुल बनाउनुपर्छ भन्दैन । यही देशको स्रोत र श्रमलाई परिचालन गरेर मुलुकलाई आर्थिक उन्नतिको दिशामा अगाडि बढाउन चाहान्छ । देशलाई विदेशी चलखेलको रणमैदान हुनबाट बचाउन निस्केको अभियान हो श्रम संस्कृति पार्टी । पुराना पार्टीहरुले काम गर्छन् भनेर पर्खिन सकिँदैन । सबै जना यो अभियानमा जोडिनुहोस् । क्रान्तीकारी विकास आजको आवश्यकता हो । ठेकेदारले एक वर्षमा गर्ने काम श्रमदानमार्फत एक महिनामै गर्न सकिन्छ भने किन क्रान्तीकारी विकास नगर्ने ?’
उनले पुराना राजनीतिक दलहरुले विकास गर्छन् भन्दै पर्खिने स्थिति नरहेको बताए ।


