ओलीले पार्टीमा नीति होइन, एकलकाँटे प्रवृत्ति देखाए: युवराज ज्ञवाली
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीको ११ औँ महाधिवेशनमा आफूहरुले सामुहिक नेतृत्व प्रणालीलाई स्थापित गराउन नेतृत्व परिवर्तन गर्न चाहेको बताएका छन् ।
उपाध्यक्ष ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीले एकलकाँटे प्रवृत्ति देखाएको र नेतृत्व प्रदान भन्ने गलत मान्यतालाई अघि बढाएकाले आफूहरुले त्यसको विकल्पमा ईश्वर पोखरेललाई नयाँ नेतृत्वको रुपमा अघि बढाउन बाध्य भएको बताए ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सामुहिक नेतृत्व विना लोकतन्त्र सफल हुन नसक्ने भएकाले पनि आफूहरुले सामूहिक नेतृत्वलाई अघि बढाउने मान्यतालाई स्थापित गराउनका लागि ११ औँ महाधिवेशनमा पोखरेललाई अध्यक्षको रुपमा निर्वाचन गराउन चाहेको बताए ।
उपाध्यक्ष ज्ञवालीले ओलीले आलोचनालाई सुन्न नचाहने गैर माक्र्सवाद चिन्तन देखाएकाले पनि त्यस्ता खालको गलत कुराको विपक्षमा उभिनुपर्ने अवस्था आएको बताए ।
उनले भने,‘हाम्रो पार्टीमा सामूहिक नेतृत्वको प्रणाली दस्तावेजमा त भनेका छौँ । तर व्यवहारमा लागू भएन । त्यसो भएर हामीले सामूहिक नेतृत्व प्रणालीलाई स्थापित गर्नका लागि, अगाडि बढाउनका लागि अब हामी नयाँ नेतृत्वमा जान चाहन्छौँ । नीति प्रदान कि नेतृत्व प्रदान । यो अर्को गम्भिर प्रश्न हो । यो हामीले नीति प्रदान भनेर दस्तावेजमा लेखेकै छौँ । तर व्यवहारिक रुपमा हामी के अभ्यास गर्दै आईरहेका छौँ भने नीति होइन, नेता प्रदान हो भन्ने कुरालाई स्थापित गर्न खोजिरहेका छौँ । यो कुरासँग हामी असहमत छौँ । यो धेरै महत्वपूर्ण कुरा हो । ’
उपाध्यक्ष ज्ञवालीले आफूहरुले ईश्वर पोखरेलको नेतृत्वमा सामुहिक ढंगले पार्टीलाई अघि बढाउने र लोकतन्त्रको सुदृढिकरणमा नेतृत्वदायी भुमिका खेल्न चाहेको पनि बताए ।


