नेपाल-चीन जोड्ने तातोपानी नाका बन्द
सिन्धुपाल्चोक । नेपाल–चीन जोड्ने अरनिको राजमार्गको कोदारी खण्ड स्थानीयले बन्द गरेका छन्। उनिहरुले बस्ती जोखिममा पर्दासमेत बेवास्ता गरिएको भन्दै भोटेकोशी गाउँपालिका– २ मा स्थानीयहरुले सडकमै धर्ना बसेर आवतजावतमा अवरोध गरेका छन्।
उनिहरुले खासाबाट तातोपानी आउने मालबाहक गाडी आवतजावत पनि बन्द गरेका छन्। इको पहिरोले बस्ती जोखिममा परेको भन्दै उनीहरूले नाका जोड्ने सडकको स्तरोन्नति गर्दा बस्तीको संरक्षण पनि गर्नुपर्ने माग राखेका छन्। स्थानीयहरुले ऐतिहासिक तातोपानी नाका जोगाउँदा बस्तीहरू पनि जोगाउनु राज्यको कर्तव्य भएको बताएका छन्।
सडक डिभिजन कार्यालय चरीकोटले विभिन्न समयमा दिएको ठेक्काले पहिरो नियन्त्रण प्रभावकारी नभएको स्थानीयको गुनासो छ।
वर्षाभर गाउँ पहिरोमा बगिरहने, हिउँदमा सरकार कानमा तेल हालेर बस्ने। अनि जब बर्खा लाग्छ रकम पचाउन पहिरो खोतल्ने परिपाटीले गाउँ नै जोखिममा परेको छ स्थानीय बताए।
इको पहिरो, कोप्लाङ र १० किलो आसपास सडक बिग्रेको १० वर्ष बितिसकेको छ।
बाह्रबिसे–लिपिङ सडक मर्मत तथा कालोपत्रे गर्न १ अर्ब ३४ करोडको ठेक्का लागिसकेको छ भने इको पहिरो नियन्त्रण गर्न ४८ करोड ४९ लाख बजेट परेको बताइएको छ।


