यो देशमा राष्ट्रपति चाहिएन, साइकल चढ्ने राजाको आवश्यकता छ: राप्रपा प्रवक्ता शाही

No ads found for this position
No ads found for this position

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीले नेपालमा संवैधानिक राजसंस्था जरुरी रहेको बताएका छन् ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता शाहीले नेपालमा प्रदेश संरचना खारेज गर्न, हिन्दु, बुद्ध, किराँतसहितको हिन्दु अधिराज्य बनाउन, संवैधानिक राजसंस्था कायम गर्न र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने मागका लागि आफूहरुले आन्दोलन गर्न लागेको बताए ।

उनले भने, ‘अब २३ गतेको आन्दोलनलाई मध्यनजर गरेर स्पष्टसँग छातीमा हात राखेर प्रदेश संरचना खारेज गर्ने मान्छे, हिन्दु, बुद्ध, किराँतसहितको हिन्दु अधिराज्य मन पराउने मान्छे, यो देशमा राष्ट्रपति चाहिएन, संवैधानिक राजसंस्था चाहिन्छ, साइकल चढ्ने राजाको आवश्यकता छ ।’

उनले नेपालमा जापान, बेलायत, नेदरल्याण्ड, अष्ट्रेलियाको र क्यानडाको जस्तो राजसंस्था हुनुपर्ने बताए ।

उनले भने, ‘राष्ट्रपतिको ठाउँमा संवैधानिक राजसंस्था, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचना खारेज, संवैधानिक आयोगमा राजनीतिक नियुक्ति बन्द, स्थानीय तह गैरदलीय र भ्रष्टाचारीलाई आजीवन कारावास गर्नुपर्छ । जेनजी हत्यारालाई पक्राउ गरेर जेल हाल्नुपर्छ । २३ गते सबैलाई भनेका छौँ, आयोजक राप्रपा हो तर राप्रपाका मान्छे मात्रै हुँदैनौँ, राष्ट्रिय झण्डामा एकजुट भएर उपस्थित हुनुहोला । जेनजी युवाहरुले सडकमा युद्ध जिते, सम्झौतामा युद्ध हारे ।’

उनले देशको संविधान, कानून र ऐनमा कतै न कतै खराब रहेको बताए । उनले राजा, जेनजी र राजनीतिक दलहरुले त्रिपक्षिय सम्झौता गर्न आह्वान गरे । माग पूरा नभए सडक आन्दोलन सुरु हुने उनले चेतावनी दिए । २३ गतेको प्रदर्शनमा घर–घरबाट उपस्थित हुन उनले आह्वान गरे ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *