समानुपातिक निर्वाचनमा भाग लिने दलहरूलाई निवेदन दिन आयोगको आह्वान
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आह्वान गरेको छ।
आयोगले शुक्रबार सूचना जारी गर्दै उक्त मंसिर २१ गते बिहान १० बजेदेखि २३ गते अपरान्ह ४ बजेसम्म सो प्रणालीमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन पेश गर्न सुचित गराएको हो।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचनमा समानुपातिक प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका २०८२ को अनुसूची-२ बमोजिमको ढाँचामा निवेदन दिनुपर्नेछ।
आयोगका अनुसार राजनीतिक दलहरूले निवेदन दिँदा सम्बन्धित दलको केन्द्रीय समितिले निर्णय गरी अधिकार प्रदान गरेको पदाधिकारीले हस्ताक्षर गरेको हुनुपर्नेछ।
उम्मेदवारको बन्द सूची पेश नगर्ने राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फ दल दर्ता गर्न आवश्यक नपर्ने आयोगले जनाएको छ।


