पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको पहिलो खेलमा काठमाण्डु गोर्खाजसँग पोखरा एभेन्जर्स १३ रनले हारेको छ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १६६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको पोखराले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १५२ रनमा सीमित बनेको हो ।
साहब आलम एक्लैले ह्याट्रिकसहित ६ विकेट लिएपछि काठमाण्डु गोर्खाज एनपिएलको प्लेअफमा पुगेको छ ।
लिगको सबै खेल सकेको काठमाण्डु १० अङ्कसहित शीर्षस्थानमा उक्लिएको छ । काठमाण्डु प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ । यसअघि सुदूरपश्चिम दुई खेल अगावै प्लेअफमा पुगिसकेको छ ।
काठमाण्डुसँगको हारसँगै पोखराको प्लेअफ सम्भवना कमजोर बनेको छ । पोखराको ६ खेलबाट चार अङ्क छ । जितका लागि एक सय ६६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको पोखरा एभेन्जर्स २० ओभरमा सबै विकेटको क्षतिमा एक सय ५२ रनमा समेटिएको थियो ।
पोखराका लागि रिशि धवनले अर्धशतकीय इनिङ खेल्नुभयो । उनले ३१ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ५४ रन बनाए । यस्तै धनञ्जय लक्ष्मणले ३०, कप्तान कुशल भुर्तेलले २२ र जासन रोयले १६ रन बनाए ।
बलिङमा काठमाण्डुका साहब आलम एक्लैले ह्याट्रिकसहित ६ विकेट लिए । उनले चार ओभरमा २५ रन खर्चिएर विकेट लिए । यस्तै सन्नी पटेल र कप्तान करण केसीले दुई दुई विकेट लिए ।
काठमाण्डुका लागि ओपनर बेन चार्ल्सवर्थले ६४ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ५५ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा उक्त रन बनाए।
यस्तै भीम सार्कीले पनि ५५ रनको अर्धशतकीय इनिङ्स खेले। उनले २३ बलमा पाँच चौका र चार छक्का हाने । मिलिन्ड कुमारले १३ रन जोडे ।
बलिङमा पोखराका धनञ्जय लक्ष्मणले चार विकेट लिए । कुशल भुर्तेलले दुई तथा किरण ठगुन्ना र विपिन कार्कीले एक एक विकेट लिए । आजै अपराह्न ४ बजे हुने अर्को खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबिच प्रतिस्पर्धा हुने छ ।


