जेनजी पुस्ताको रियल लिडर एमाले होः विष्णु पौडेल
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जेनजी पुस्ताको रियल लिडर आफ्नो पार्टी भएको दाबी गरेका छन् ।
प्रेस चौतारी नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले एमाले जेनजीको जायज आकंक्षा र अपेक्षाका विरुद्ध कहिल्यै नरहेको बताए ।
उनले भने, ‘जेनजी उमेर समूहको रियल लिडर एमाले हो । एमालेले कहिल्यै पनि जेनजीका विरुद्धमा मागका विरुद्धमा, उनीहरुका न्यायिक र जायज आकांक्षा र अपेक्षाका विरुद्धमा थिएन र छैन । भदौ २३ गते जेनजीका जुन माग र मुद्दामा आएका थिए । उनीहरुले अघि सारेका माग चाहे सोसल मिडियाका कुरा गरौं। सोसल मिडिया निर्वाध उपयोग गर्ने उनीहरुको माग हो । सोसल मिडिया कसरी रेगलेट गर्ने भन्ने विषयमा जेनजीले माग राखेका होइनन् । उनीहरुको एउटै माग हामीले त्यसलाई निर्वाध उपयोग गर्न पाउनुपर्छ भन्ने थियो । यो नितान्त जायज माग थियो उनीहरुको ।’
उपाध्यक्ष पौडेलले सरकारले निर्वाचनको लागि आवश्यक वातावरण बनाउन नसकेको बताए ।


