मधेस प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार दिउँसो २ बजे विश्वासको मत लिने भएका छन्।
सोमबार सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादवको नाममा परमादेश जारी गरेको थियो। यादवले २४ घण्टाभित्र विश्वास मत लिनु भनिए पनि उनले परमादेशको पत्र मङ्गलबार दिउँसो ३ बजे मात्र प्राप्त गरेको हुँदा सोही आधारमा विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा पत्र पठाएका हुन्।
मुख्यमन्त्री यादवको नियुक्तिविरुद्ध प्रदेशसभाका ७४ जना सदस्यले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिटमा सर्वोच्च अदालतले यसअघि पनि दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो।
यादव प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा (एमाले) संसदीय दलको नेताका हैसियतमा मुख्यमन्त्री नियुक्त भएका हुन्। अन्य दलले बहुमतका आधारमा सरकार बनाउन आग्रह गरे पनि तत्कालीन प्रमुख सुमित्रा भण्डारीले यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। त्यसमा विवाद उत्पन्न भएपछि प्रदेश प्रमुख भण्डारीलाई सङ्घीय सरकारको सिफारिसमा राष्ट्रपतिले पदमुक्त गरिसकेका छन्।
मधेस प्रदेशसभामा कूल १०७ सदस्य रहेकामा सरकार बनाउन कम्तीमा ५४ मत आवश्यक पर्छ।


