५ लाखमाथिको नगद कारोबार बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने
काठमाडौं । अबदेखि ५ लाख रुपैयाँसम्मको नगद कारोबार बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी माघ १ देखि कार्यान्वयनमा ल्याउने गरी उक्त निर्णय गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले माघ १ देखि १ पटकमा ५ लाख रुपैयाँ वा सोभन्दा माथिको वस्तु तथा सेवाको खरिद बिक्री गर्दा वित्तीय संस्था वा बैंकिङ उपकरणबाट गर्नुपर्ने गरी नगद काराबारको सीमा निर्धारण गरिएको बताए ।
यसअघिको तुलनामा नगद सीमा थप ५ लाखले घटाइएको छ । यसअघि नगद कारोबारको सीमा १० लाख रुपैयाँसम्म तोकिएको थियो ।
यसअघि सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर २०७३ साल चैत्र १० गते घोषणा गरी २०७४ साउन १ देखि प्रतिकारोबार १० लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट गर्नुपर्ने अनिवार्य व्यवस्था लागू गरेको थियो । अब अहिले सरकारले घटाएर तोकेको नगद सीमा राजपत्रमा सूचना प्रकाशित गरेपछि लागु हुनेछ ।
राजपत्रको सूचनाले बैंकहरू पूर्ण रूपमा स्पष्ट नहुन सक्ने भएकाले त्यसका आधारमा नेपाल राष्ट्र बैंकले थप सूचना जारी गरी बैंक तथा वित्तीय संस्थामार्फत कस्तो परिस्थितिमा यो सीमा लागु हुने र कस्तो अवस्थामा अनिवार्य नहुने भनेर स्पष्ट रूपमा खुलाउने छ।


