बाह्य शक्तिहरूले नेपाललाई कब्जामा लिए, निर्वाचन हुँदैन: पृथ्वीसुब्बा गुरुङ
काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जेनजीको नाममा भदौ २३ र २४ गते नेपालमा प्रतिक्रान्ति भएको आरोप लगाएका छन् ।
प्रेस चौतारी नेपालले सोमबार आयोजना गरेको कार्यक्रममा उनले जेनजीको नाममा बाह्य शक्तिहरूले नेपाललाई कब्जामा लिएको आरोप लगाए ।
उनले भने, ‘भदौ २३ र २४ गतेको काण्डले प्रतिगमन भयो मुलुकमा, प्रतिक्रान्ति भयो यो मुलुकमा । जनताले ७५ वर्ष लगाएर सङ्घर्ष गरेर बनाएको संविधान च्यातियो । त्यसालई कोमामा पुर्याइयो । हाम्रो राज्यको सबै अंगलाई उनीहरूले (बाह्य शक्ति)आफ्नो हस्तक्षेपमा लिए । त्यस कारण यो प्रतिक्रान्ति भयो । यो प्रतिक्रान्तिलाई सच्याउने माध्यम चाहिँ उनीहरूले रचेको चुनावमार्फत हुन्छ की त्यही विघटित प्रतिनिधि सभालाई पुनः स्थापना गरेर हुन्छ, भन्दा नेकपा एमालेले भन्यो, सुल्टो बाटो, प्रतिक्रान्तिलाई सच्याउने भनेको अवैधानिक सरकारबाट नाटक मञ्चन गरिएको चुनावबाट हुन्न । यो चुनाव चाहिँ हामीले धेरै ठाउँमा देख्या छौँ।’
गुरुङले यस्तो क्रान्तिपछि बनेको सरकारले चुनावको नाटक गरेर चुनाव हुन नसकेका ठाउँहरू धेरै भएको बताए ।
उनले भने, ‘चुनाव त्यो बेलासम्म हुन्न, जुनेलासम्म उनीहरूले भनेको जस्तो पार्टीहरू जितेर आउन सक्दैन, व्यक्तिहरू चुनाव जितेर आउन सक्दैन । यस्तो पात्र पाएको छैनन्, उनीहरूले यहाँ । त्यस कारण विद्यमान जो लोकप्रिय पार्टीहरू छन्, एमालेलाई कहीँ पनि जान नदिने, एमालेका नेताहरूलाई स्थान हद तोक्ने, यो काम चाहिँ चुनाव गराउने मनसायबाट भएको छ ? चुनाव गराउने मनसायबाट होइन । उनीहरू त टाइम वाई गर्न चाहन्छ । टाईमवाई गरेरचाँही फेरि उनीहरूले भनेजस्तो एमालेका नेताहरूलाई कुनै न कुनै मुद्दा लगाउने, प्रचारप्रसार गर्न नदिने परिस्थिति निर्माण भयो भने चुनाव गर्छ उनीहरूले ।’
उनले एमाले पार्टी निर्वाचनबाट कहिल्यै नभाग्ने बताए । एमाले चुनावबाट भाग्न खोजेको भनेर भ्रम पारिएको उनको भनाई छ ।



