बैंकहरुले ‘लोन प्याकेज’ पुनरावलोकन गर्नुपर्छः गभर्नर पौडेल
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बैंकहरुले ‘लोन प्याकेज’ पुनरावलोकन गर्नुपर्ने बताएका छन् ।
सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) २९ औँ वार्षिक साधारण सभामा गभर्नर पौडेलले विभिन्न क्षेत्रहरूबाट बैंकहरुको लोनका बारेमा प्रश्न उठेको बताउँदै अब बैंकहरुले त्यस्ता प्याकेजहरू पुनरावलोकन गर्ने बेला आएको बताए।
उनले भने, ‘बैंकको फाइनान्सियल प्रोडक्सहरु मोनटिरी पोलिसीअनुसार नयाँ आइरहेको देखिँदैन । कतिपय फार्मरहरुदेखि टुरिजम सेक्टरको फार्मर, एन्ट्ररप्रेनरसहरुले पनि भनिरहेका छन् की लोन प्रोडक्टहरुले जुन रुपमा डिजाइ भइरहेको छ, त्यो डिजाइनहरु उहाँहरुको आवश्यकता अनु्कुलको भएर आएको छैन् । त्यो भएर बैंकका म्यानेजरहरु समेत यो कार्यक्रममा हुनुहुन्छ, लोकल विजनेसम्यानहरुलाई फोकस गरेर फाइनान्सियल प्रोडक्टहरु ल्याउन म अनुरोध पनि गर्दछु ।’
गभर्नर पौडेलले यसविषयमा बैंकका सिइओसँग आगामी हप्ता छलफल गर्न लागेको बताए । पौडेलकाअनुसार अहिलेका बैंकहरुको प्रोडक्टरहरु कत्तिको प्रभावकारी छन् त्यसबारे समीक्षा हुनेछ ।
उनले मौद्रिक नीतिलाई थप लचिलो बनाइएको बताउँदै यसले कृषि, पर्यटनलगायतका उद्यमी व्यवसायीले ऋणका लागि सहजता थप्ने बताए । उनले राष्ट्र बैंकको नीतिकै कारण कुनै उद्योगी व्यवसायीलाई समस्यामा पर्ने अवस्था आउन नदिने बताए।
गभर्नर पौडेलले बैंकहरुलाई महानगरभित्र शाखा खोल्ने, गाभ्नेमा मौद्रिक नीतिले स्वतन्त्र छाडिदिएको बताए । त्यसले बैंकहरुले नाफा बढाएर मुनाफा खुलाउन सघाउ पुग्ने आफूले विश्वास लिएको उनले बताए । सोमवार राष्ट्र बैंकले बैंकहरुलाई महानगर भित्र शाखा खोल्न र बन्द गर्न स्वतन्त्रता दिएको थियो ।


