निर्वाचनमा सेना परिचालन गर्ने निर्णय भइसक्यो : गृहमन्त्री
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले गत २३ र २४ भदौमा लुटिएका हातहतियार फिर्ता ल्याउन देशभर ‘सेक्युरिटी अपरेशन’ सञ्चालन गरिएको बताएका छन्।
बिहीबार राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा गृहमन्त्री अयर्नलले हालसम्म आन्दोलनको क्रममा लुटिएका हतियारमध्ये ७२३ थान हतियार बरामद गरिएको बताए ।
उनले जेनजी आन्दोलनको क्रममा कारागार तथा बन्दीगृहबाट भागेका तथा फरार भएका १४ हजार ५ सय ५४ कैदीबन्दीमध्ये ९ हजार ६ सय ९७ जनालाई फिर्ता ल्याइसकिएको बताए । बाँकी ४ हजार ८ सय ५७ जनालाई फिर्ता ल्याउन विषेश अपरेशन सञ्चालन गरिएको उनको भनाइ छ ।
भाद्र २३ र २४ गतेको घट्नासँग सम्बन्धीत अपराधमा संलग्नमध्ये कुल ५ सय ९५ जनालाई पक्राउ गरिएको तथा २ सय ८३ जनालाई विभिन्न कसुरमा मुद्दा दर्ता गरिएको उनले बताए ।
अगामी निर्वाचनमा सेना परिचालन गर्नको लागि लेखि पठाइ राष्ट्रिय सुरक्षा परिषदबाट निर्णय समेत भइसकेको बताए ।
उनले भने, ‘जिल्लागत र प्रदेशगत सुरक्षा चुनौती तथा अवस्थाको जानकारीका साथै सुरक्षा तयारीका लागि सातै प्रदेशमा निर्वाचनलक्षित प्रदेशस्तरीय सुरक्षा गोष्ठी गर्ने, केन्द्रीय सुरक्षा समितिको निर्णयबमोजिम लुम्बिनी प्रदेशमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न समेत भइसकेको छ । बाँकी प्रदेशहरुमा पनि पुसभित्र सम्पन्न गर्नेगरी तयारी भइरहेको अवस्था छ । निर्वाचनलाई ध्यानमा राख्दै सुरक्षा निकायको सुदृढिकरणको लागि नेपाल प्रहरीतर्फ नियमित बजेटबाट १ सय ५६ वटा र थप बजेटबाट १ सय ६ वटा गरी कुल २ सय ६२ थान सवारी तथा सशस्त्र प्रहरीतर्फ नियमित बजेटबाट ५९ र थप बजेटबाट ५० वटा गरी कुल १ सय ९ सवारी र राष्ट्रिय अनुसन्धान विभागतर्फ थप ६ वटा सवारी खरिदको लाग स्रोत सुनिश्चित गरी खरिद प्रक्रिया अगाडि बढाइएको छ ।’
उनले प्रतिनिधि सभा सदस्य निर्वाचन घोषित मितिमा सम्पन्न गर्न सरकार कटिवद्ध रहेको बताए ।


