यो देशमा बल्न लागेको दियो फेरि निभ्ने हो की भन्ने आशङ्का छ: स्वर्णिम वाग्ले (भिडियो)
काठमाडौं । अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपालमा केही भएको छैन भन्ने भाष्य निर्माण गर्नु गलत हुने बताएका छन् ।
राष्ट्रिय युवा परिषद्ले बुधबार आयोजना गरेको कार्यक्रममा उनले २०४८ सालपछिको निर्वाचित सरकारले लिएको आर्थिक नीतिका कारण नेपालमा धेरै परिवर्तन भएको बताए । यसलाई सबैले स्वीकार गर्नुपर्ने उनको भनाई छ ।
उनले भने, ‘नेपालमा एक डेढ दशकदेखि उकुसमुकुस भइरहेको छ । यसको प्रतिबिम्बको रूपमा भदौ २३ र २४ को विस्फोटमा पनि भयो र मुलुकको अर्थराजनीतिक कोर्सलाई नै मोडिने गरेर र यसलाई समाल्न सक्यौँ भने हामी साँच्चिकै नयाँ ट्रयाज्क्टरीमा जान सक्छौँ भन्ने आशा पनि पलाएको छ ।’
यद्यपि यो सङ्क्रमणलाई व्यवस्थापन गर्न सकेनौँ भने फेरि अलिकति प्रतिगमन पश्च गमन अलि पुरानै उल्टै बाटो र त्यसले आशाहरू मार्ने उनको भनाइ छ।
उनले भने, ‘युवाहरूको यो देशमा अलिअलि बल्न लागेको दियो पनि निभ्ने हो की भन्ने आशङ्का पनि आजकल म देशभर ढुल्दा पनि विदेशमा जाँदा पनि पाउँदछु । यसलाई सम्हाल्ने जिम्मेवारी हामीजस्ता नयाँ पात्रहरू, नयाँ दलहरू र राजनीतिमा केही गर्नुपर्छ भनेर लाग्नुपर्छ भन्नेहरूको जिम्मेवारी छ । तर सबै खत्तम यहाँ केही पनि हुँदैन भन्ने भाष्य पनि राम्रो होइन । यस मानेमा कहिलेकाहीँ फर्केर हेर्दा खेरी नेपालमा केही पनि नभएको होइन । यसलाई एक्रोलेज गरेर नै जानुपर्छ । २०४८ सालको नवनिर्वाचित सरकारले गरेका आर्थिक सुधारको बलमा राम्रो पिक अप लिएको थियो । एभरेज ग्रोथरेन्ज ७ प्रतिशत जति थियो । त्यसलाई आज निरन्तरता दिन सकेको भए, हामी करिब १ सय बिलियन डलर आकारको अर्थतन्त्र आज नै पुग्ने रहेछ ।’
उनले आगामी निर्वाचनपछि नयाँ आउने नेतृत्वले देशमा आर्थिक विकासको लागि दर्जनौँ कानुनमा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए।


